हिमपातले अवरुद्ध बन्यो मध्यपहाडी लोकमार्ग

बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

हिमपातको फाइल तस्वीर

बागलुङ–  हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो।

अहिले पनि हिमपात भइरहँदा सवारीसाधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए। आइतबार साँझदेखि वर्षा भए पनि सोमबार बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए।

हिमपात भएपछि पूर्वीरूकुमदेखि पोखरा, काठमाडौँ चल्ने सवारीसाधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रूपमा बन्द भएको उनले बताए। चरनका लागि पातिहाल्ने लगिएका बस्तुभाउ पनि बेँसी झारिएको उनको भनाइ छ।

“हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडीहरू चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारीसाधन चलेका छैनन्, बेँसीबाट लिएका भेडाबाख्रा पनि फर्काइएको छ, आज रातिसम्म हिमपात हुने सम्भावना देखिएको छ,” उनले भने।

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ। बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ। वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन्। 

ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए। लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन्।

खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ।