भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ठाउँ छुट्टाउन सरकारसँग रेडक्रसको माग

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाइ काम गर्न दिए उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको भनाइ छ।

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाउन माग गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी रेडक्रसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिममा क्षेत्र छुट्टाइदिएर पुनर्निर्माण गर्न दिए आफूहरूलाई सहज हुने बताएको हो।  

आफूहरूलाई प्रभावित क्षेत्र छुट्टाइ काम गर्न दिए कामको उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने उनीहरूको भनाइ छ। पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले भने, “डुप्लिकेसन पनि नहोस्। हामीले दिने सुविधाबाट कोही वञ्चित नहोस्। हामीलाई एरिया छुट्टाइदिनुस्, हामी डिटेल सर्वेसहित सबै कुरा गर्छौं, त्यहाँ दिनुपर्ने भूकम्पपछिको राहत र पुनर्स्थापनामा हामी पर्फमेन्स देखाउँछौँ।”

उनले केही दिनअघि आफूहरूले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेको र सो क्रममा विकराल स्थिति पाएको बताए। उनले भौतिक संरचनाहरू बाहिरबाट राम्रो देखिए पनि भित्र बस्न मिल्ने अवस्थामा नरहेको उल्लेख गरे। “हामीले व्यक्तिगत रूपमा हेर्दा विकराल स्थिति छ। मानवीय क्षति भनेको दुःखदायी घटना हो। घरहरू बाहिरबाट सर्लक्क देखिन्छन् पनि तर भित्र लथालिंग छ। बस्नलायक घरहरू ज्यादै कम छन्,” उनले भने।

उनले भ्रमणका क्रममा रेडक्रसले कम्बल, म्याट्रेस, त्रिपाल पीडित बासिन्दालाई प्रदान गरेको बताए। उनले भूकम्पपीडितलाई रकम वितरण, घर निर्माण गर्नेदेखि सबै कुरा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए।