राज्यविरुद्धको मुद्दामा चन्दसहित चार जनालाई पक्राउ पुर्जी

काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित चार जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेत्रविक्रम चन्द ‘विप्लव’सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सोमबार अदालतले हाल कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढी बस्दै आएका नेकपा कम्युनिस्ट पार्टीका महासचिव चन्दसहित कालीकोटको नरहरिनाथ गाउँपालिका–६ बस्ने नेकपाका प्रवक्ता एवं पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, लमजुङ घर भई काठमाडौँको सामाखुशी बस्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की र केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्युरो इन्चार्ज काठमाडौँको नागार्जुन नगरपालिका–१० थाप्लेका माइला लामा (प्रज्वल)विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

अदालतले सरकारबाट हेमन्त प्रकाश ओलीको राज्यविरुद्धको कसुर मुद्दामा २०७६ असोज ९ गते दायर भई मंसिर १० गते भएको फैसलाअनुसार उनीहरूका नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। 

पक्राउ पुर्जीमा उनीहरूलाई आफूहरूसँग सबुत प्रमाणसहित आफैँ उपस्थित हुन भनिएको छ। “तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानून बमोजिम हुने छ। पछि तपाईंको उजुरबाजुर लाग्ने छैन,” पुर्जीमा भनिएको छ। लामा र चन्दविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा नम्बर ०७६-सी१-०६२१ र ०७६-सी१-०६२० अनुसार र अन्य दुई जनालाई मुद्दा नम्बर ०७६-सी१-०६२१ अनुसार पक्राउ पुर्जी जारी भएको हो।