भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष मणिपुरबाट ६० हजार विस्थापित भएका छन्।

तस्वीर एएफपी

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मणिपुरको राजधानी इम्फालबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरू गरेको थियो।

“सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ। सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्,” एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

गैर–आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा हिंसा भड्किएको हो। गत मे ३ देखि हिंसाले ठूलो रूप लिएपछि मणिपुर तनावग्रस्त बनेको छ।

बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष ६० हजार विस्थापित भएका छन्। राज्यमा प्रदर्शनकारीले घर र पसलहरूलाई लक्षित गरी तोडफोड र आगजनीसमेत गरेका थिए। 

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म यस क्षेत्रमा १७५ जनाको मृत्यु भएको छ। तथ्यांकअनुसार यो अवधिमा एक हजार ११८ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता छन्।