निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
सिराहा– संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कस्तो होला? सिरहा नगरपालिका–६ की ६० वर्षीया दारावती दास पछिल्लो एक वर्षदेखि यही समस्या भोग्दै आएको थिइन्।
पाँच वर्ष अगाडिदेखि उनको आँखाको ज्योति धुमिल हुँदै गएको थियो। एक वर्षयता भने पूरै ज्योति गुमेको थियो। उनको हेरचाह बुहारी अनितादेवी दासले गरिरहेकी थिइन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचार सम्भव भएको थिएन।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतामा आँखाको निःशुल्क शल्यक्रिया गरेपछि उनको आँखाको ज्योति फर्किएको छ। पुनः संसार देख्न पाएकामा उनमा खुशीको सीमा नै छैन। “बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, अपरेशन भगैल, आँइखक रोशनी हमरा नव जिनगी देलक (लाग्थ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर अपरेसनपछि आँखाले ज्योति पायो। फेरि नयाँ जीवन पाएझैँ लागेको छ)”, आँखाको ज्योति पाएपछि दारावतीले भनिन्।
वडा कार्यालयले शिविर सञ्चालन गरेर रोगको पहिचान गरी शल्यक्रिया गर्ने प्रबन्ध गरेको हो। आर्थिक अवस्था कमजोर भएका दारावतीजस्तै वडाका अन्य ५५ मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको वडाध्यक्ष इन्द्रजित यादवले बताए।
६५ वर्षीया किशोरी यादवले पनि नयाँ ज्योति पाएकामा उपचारमा संलग्न चिकित्सक र वडा कार्यालयलाई धन्यवाद दिए। “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन”, किशोरीले भनिन्, “तर वडा कार्यालयले सबैलाई अस्पतालसम्म लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइदियो। प्रस्ट आँखा देख्ने भएको छु। अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उहाँले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको उनको भनाइ छ।
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको वडाध्यक्ष इन्द्रजितले बताए। “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, उनले भने।
शिविरमा सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको थियो। शल्यक्रिया गरिनुपर्नेलाई प्रयोगशाला परीक्षण, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चस्मासमेत निःशुल्क उपलब्ध गराइएको छ। वडाको बजेट पर्याप्त नभएपछि ‘हेल्पिङ ह्यान्डस नेपाल’सँग सहकार्य गरेर शिविर सञ्चालन गरेको वडाध्यक्ष इन्द्रजितले बताए।
निःशुल्क आँखा शिविरमा ३०५ आँखाका बिरामी पहिचान भएकामध्ये ७३ जनामा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये पहिलो चरणमा ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानसम्म आवतजावतका लागि यातायातको समेत व्यवस्था गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
