बेपत्ता भएको ४ दिनपछि मृत भेटिए अहेव

सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा गत शुक्रबार बेपत्ता भएका थिए।

सांकेतिक तस्वीर

सिमीकोट– सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा मृत भेटिएका छन्। 

गत शुक्रबार सर्केगाड गाउँपालिका– ३ उनापानीस्थित आफ्नै घरबाट बेपत्ता भएका ५२ वर्षीय फडेरा घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरमा मृत भेटिएका हुन्। 

आफन्तले खोजी गर्ने क्रममा उनलाई सोमबार बेलुका फेला परेको डीएसपी रवीन्द्र खनालले जानकारी दिए। मृतक फडेराको घाँटीमा चोट लागेको जनाइएको छ।

“घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। थप अनुसन्धान र मुचुल्का गर्न सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ,” डीएसपी खनालले भने। 

मुचुल्कापछि शव पोस्टमार्टमका लागि बाजुरास्थित सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा लैजाने तयारी गरिएको छ।