मनाङमा हिमपात: बालीनाली सप्रिने अपेक्षा, जनजीवन भने कष्टकर

चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने स्थानीयको भनाइ छ।

तस्वीर: रासस

मनाङ– मनाङमा सोमबारदेखि हिमपात भएरहेको छ। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो।

यस वर्ष समयमा नै हिमपात हुँदा किसानमा खुशी छाएको छ। अर्कातिर चिसो बढेपछि जनजीवन भने कष्टकर बनेको छ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमा बसेको बताए। “हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न आमा र म  यहीँ छौँ,” उनले भने, “हिमपात भएपछि चिसो बढेको छ। घर बाहिर निस्किन नसक्ने अवस्था छ।”

समयमा हिमपात हुँदा आफूहरू खुशी भएको मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले बताए। “अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ। यसले उत्पादन पनि राम्रो हुन्छ,” उनले भने, “हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न तथा घरबाहिर निस्कन नै मुस्किल भएको छ।”

चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने उनले बताए। हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरू खुशी भएका हुन्। यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। 

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने हिमपात जारी रहेको बताए। उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे। 

सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ। हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन्।