एकीकृत समाजवादीले महाधिवेशन जेठमा गर्ने

नेकपा एकीकृत समाजवादीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको छ।

काठमाडौँ– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय महाधिवेशनको मिति टुंगो लगाएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय सचिवालय बैठकले १०औँ महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासविच एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकले महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको मंगलबार जानकारी दिए।

उनका अनुसार मदन आश्रित स्मृति दिवसको अवसर पारेर काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिएको हो।

पार्टीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको हो।

पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल गरिएको बैठकले महाधिवेशन तयारी समितिसमेत गठन गरेको छ।

दस्ताबेज मस्यौदाका निम्ति अध्यक्ष नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको उनले बताए।

उनका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका साथै अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो।

पार्टीले राष्ट्रियसभाको निर्वाचनका लागि आगामी माघ ११ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।