सरकारले एनसेल खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।

काठमाडौँ– सरकारले मलेसियन लगानीकर्ता कम्पनी आजिआटाले एनसेलको शेयर खरिद–बिक्री गरेको प्रकरणबारे अध्ययन तथा छानबिन गर्न समिति बनाउने भएको छ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर–खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रिपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन गर्न समिति बनाउने बताइन्।

“नेपाल र नेपालीको हित र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिबद्ध छ। क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ। त्यसले सिफारिस गरेबमोजिम नेपाल सरकारले काम गर्नेछ,” उनले भनिन्।

उनले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागीनसकेको बताइन्। उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको उल्लेख गरिन्।

मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावबारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन्। “अध्ययन/छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानूनबमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ,” उनले भनिन्।

त्यस्तै, सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। नेपाली कांग्रेसका सचेतक रमेश लेखकले बैठकले नेपालको कानूनबमोजिम सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अनुकूल खरिद–बिक्री नभएको बताएका थिए। उनले बैठकबाट शेयर खरिद–बिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताएका थिए।

मलेसियन लगानीकर्ता कम्पनी आजिआटाले नेपालमा दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बेचेर बाहिरिने निर्णय गरेको थियो।