किन लगातार बढिरहेको छ सुनको मूल्य?

लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुनलाई सुरक्षित लगानीको रूपमा लिएकाले विश्व बजारमा सुनको मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ।

काठमाडौँ– सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ। सोमबार सुनको मूल्य नेपालमा हालसम्मकै सर्वाधिक रह्यो।

उक्त दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार १०० रुपैयाँमा कारोबार भएर रेकर्ड कायम भएको थियो। बुधबार घटेर एक लाख १८हजार ४०० रुपैयाँ कायम भएको छ। तर, सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन्। 

नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि लगातार गिरावट आएको थियो। तर, पछिल्लो दुई हप्ता लगातार रूपमा सुनको मूल्य उच्च रूपमा बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए। 

विश्वका लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुन सुरक्षित लगानीको रूपमा लिएकाले विश्व बजारमा सुनको मूल्यवृद्धि भएको हो। रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको उनको भनाइ छ।

“विश्वका ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा गरेको लगानी डुब्ने चिन्ताले सुरक्षित लगानीका रूपमा सुनमा लगानी गर्न थाले,” उनले भने, “त्यसैगरी, विश्वव्यापी रूपमा दिनप्रति दिन मूल्यवृद्धि हुँदै जानु र उद्योगधन्दा समस्यामा पर्न लागेको कारण सुनको मूल्य उच्च रूपमा बढेको हो।”

अमेरिकी फेडरल रिजर्भ बैंकले हालै निक्षेपको ब्याजदर बढाउन नसक्ने भएपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी गरेको थियो।

नेपाली बजारमा मंसिरमा विवाहको लगन धेरै हुने भएकाले विगतमा दैनिक ६० किलो सुन खपत हुने गरेको थियो। तर, मूल्य बढेका कारण हाल दैनिक १० देखि २० किलो मात्रै खपत भइरहेको महासंघले जनाएको छ।