सरकारलाई एनसेलको जवाफः ‘कानूनतः कर्तव्यपालनमा कटिबद्ध छौँ’

दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।

काठमाडौँ– एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा आजियाटाले नेपालको कानून मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको छ।

आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा चौतर्फी प्रश्न उठेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।

पुँजीगत लाभकर छली गरेको भन्दै प्रश्न उठेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बुधवार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफबारे जानकारी गराएका थिए। 

खरिद मूल्य भन्दा निकै कम मूल्यमा आजियाटाले एनसेलको शेयर बिक्री गरेको सार्वजनिक गरे पछि प्राधिकरणले मङ्सिर १५ गते एनसेललाई शेयर किनबेचअघि स्वीकृति लिन निर्देशन दिँदै पत्र लेखेको थियो। 

नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरू संकलन गरी दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको शेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष शेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेश गर्ने समेत जानकारी गराएको छ। 

एनसेलको शेयर बिक्रीको विषयमा छानबिन गर्ने सरकारको तयारी छ।