सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।

काठमाडौँ– नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सीम्याट)बीच नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बुधबार सिंहदरबारमा भएको समझदारीमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सीम्याटका तर्फबाट ब्राम गोभाट्सले हस्ताक्षर गरेका हुन्। समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।

हस्ताक्षरअघि सीम्याटको टोलीलाई स्वागत गर्दै कृषिमन्त्री बेदुराम भुसालले, साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सीम्याट मेक्सिकोमा मुख्यालय रहेको एक गैर–नाफामुखी संस्था हो। नेपालसँग सीम्याटको आबद्धता अनौपचारिक रूपमा सन् १९६० को दशकबाट विभिन्न भ्रमण र वैज्ञानिकलाई तालिम प्रदान गर्ने सिलसिलामा शुरू भएको थियो।  सीम्याट औपचारिक रूपमा सन् १९८५ देखि नेपालमा कृषि उत्पादन र उत्पादकत्त्व वृद्धि गर्ने उद्देश्यका साथ सक्रिय रहेको छ।