अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदारझैँ सम्झन्छ, तर अमेरिकाकै एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ?
चोम्स्की मूलतः भाषाविद् हुन्। उनी संसारमा भाषा विज्ञानको सिद्धान्तका लागि चर्चित छन्। उनी आफू स्वयं अमेरिकन भइकन पनि अमेरिकी विदेश नीतिको कटुआलोचक हुन्। अराजकतावादी दार्शनिक हुन्। 'पब्लिक-सोसल एक्टिभिस्ट' र बौद्धिक व्यक्तित्व पनि हुन्। संसारका जुनसुकै कुनामा हुने गरेका अन्यायविरुद्ध उनी बोलिरहेका हुन्छन्।
अमेरिकाले भियतनाममा नरसंहार मच्चाइरहँदा त्यसविरुद्ध उनले त्यसको विरोध गरे। अमेरिकाले इराक र अफगानिस्तानमा आक्रमण गर्दा पनि उनले कडा विरोध जनाए। 'एकेडेमिया'मा उनको महत्त्वपूर्ण नाम छ। मूलतः नेपालमा हामी उनलाई भाषा वैज्ञानिकका रूपमा मात्रै चिन्छौँ, तर उनको व्यक्तित्व त्योभन्दा ज्यादा छ। अन्य परिचयकै कारण उनको व्यक्तित्व चुलिएझैँ लाग्छ।
चोम्स्की बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका थिए भन्ने कुरा यस प्रसंगले बुझ्न सकिन्छ। उनका एक जना अनुयायी छन्, रोबर्ट बार्स्की। उनले 'द चोम्स्की इफेक्ट्स' भन्ने किताब लेखेका छन्। त्यसमा पनि उनीबारे खुलाइएको छ। सन् १९२८ डिसेम्बर ७ मा अमेरिकाको फिलाडेल्फियामा जन्मेका उनी सानै उमेरमा समाजलाई सूक्ष्म ढंगले नियाल्ने गर्थे।
एक कथनअनुसार उनको घरमा त्यस समयमा उपलब्ध कुनै इन्साइक्लोपेडिया थियो। घरमा आएका कुनै पाहुनाले उनलाई सोधेछ, "यो के हो तिमिलाई थाहा छ?" उनले उत्तर दिएछन्, "यो इन्साइक्लोपेडिया हो। आधि पढेको छु र आधि पढ्न बाँकी छ।" उनले १० वर्षको उमेरमा स्कुलबाट निस्कने पत्रिकाका लागि फासिवादको विस्तारबारे लेखसमेत लेखे। यसबाट उनको चिन्तन र सोचको अनुमान गर्न सकिन्छ।
विश्व राजनीतिप्रति चोम्स्की दृष्टिकोण
चोम्स्की ९४ पुगेर ९५ लाग्दैछन्। उनले लामो जीवनमा विभिन्न युग बाँचे। दोस्रो विश्वयुद्ध देख्न भ्याएका उनले भियतनाम नरसंहार देख्न भ्याए। साम्यवादको ढल्दो लहरदेखि इराक र अफगानिस्तानमा अमेरिकाको हमला र महामारीपछिको क्षणसमेत बिताइरहेका छन्। उनको जीवन नियाल्दा उनी जुनसुकै खालको प्रभुत्ववादको विरोधी हुन्। कुनै पनि देशले अर्को देशलाई, देशभित्रका वर्चस्वशाली समुदायले अर्को सामान्य समुदाय या मान्छेलाई गर्ने दमनको विरोध गर्दै हिँडे उनी।
उनी आफैँमा समाजवादी दार्शनिक हुन्। उनी यस्तो व्यवस्थाको परिकल्पना गर्छन्, जहाँ कोही दमित हुन नपरोस्। समाजमा जति पनि उत्पादन र धन छ, त्यो सबै मानव हितका लागि सदुपयोग होस् भन्छन् उनी। दुःखको कुरा, संसार उनले या अन्य कुनै मानवतावादीले सोचेजस्तो आदर्शमय छैन। संसारमा धनी र गरिबबीचको खाडल झनै बढिरहेको छ। जलवायु परिवर्तनले ठूला मानवीय विपत्तिहरू अघि आउँदैछन्, चोम्स्की यी विषयमा पनि गम्भीरताका साथ बोलिरहेका छन्, लेखिरहेका छन्।
अमेरिकी परराष्ट्र नीतिका आलोचक
उनको एउटा निबन्ध छ, 'द रेस्पोनस्बिलिटी अफ् इन्ट्लेक्चुअल्स।' त्यहाँ उनले लेखेका छन्, "सत्य कुरा बोल्नु र झुट कुराको उजागर गर्नु विद्वानहरूको जिम्मेवारी हो।" सामान्य मान्छेले पनि संसारको प्रभुत्व-संरचना हेर्ने हो भने एउटा देशले अर्को देशलाई आक्रमण गरेको अथवा एउटा समुदायले अर्को समुदायलाई दुःख दिएका टन्नै उदाहरण छन्।
कुनै पनि तार्किक मान्छेले त्यस्ता कुरा सहजै नियाल्न सक्छ। चोम्स्की अमेरिकामै बसेर अमेरिकाले अन्यत्र गरेको व्यवहार र अपनाएको नीति नियालिरहेका छन्। पानामामा अमेरिकाले किन आक्रमण गर्यो? भियतनाम, इराक, अफगानिस्तान अमेरिका जानुको के उद्देश्य थियो? त्यसबारे तार्किक प्रवचन दिइराखेका छन्। उनले अमेरिका बसेर अमेरिकाको विदेश नीतिले अन्य देश र अमेरिकाकै आम नागरिकको जीवनलाई समेत कति अप्ठ्यारो पारिरहेको छ भन्ने कुरा बुझे। यिनै कारणले उनले अहिलेसम्म पनि अमेरिकाको विदेश नीतिको कडा आलोचना गरेका हुन्।
तानाशाही र तथाकथित प्रजातन्त्रवादीको मजाक
चोम्स्कीले सोचेजस्तो व्यवस्था विश्वमा कमै होलान्। त्यही भएर उनी तानाशाही र तथाकथित प्रजातान्त्रिक व्यवस्था र तिनको वाक स्वतन्त्रताबारे बेलाबेला चाेम्स्की मजाक गर्छन्, जबकि १९९० को दशकपछि त संसारका नागरिकलाई तुलनात्मक रूपमा पहिलेभन्दा धेरै हदसम्म सहज भएको छ भन्ने गरिन्छ। तर कुरो त्यति मात्रै होइन।
मुख्य प्रश्न के हो भने अहिलेको खुला व्यवस्थाले मानव समाजमा सिर्जित धेरै समस्याको हल गरेको छ त? अथवा हल गर्ने चेष्टा गरेको छ त? थोमस पिकेटी अहिलेका चलेका अर्थशास्त्री हुन्। उनको अनुसन्धानले संसारमा धनी र गरिबबीचको खाडल अझै बढ्ने क्रममा छ भन्ने देखाउँछ। सोभियत युनियनको विघटनपछिको युगमा फ्रान्सिस फुकुयामाजस्ता लेखकले त इतिहासको अन्त्यसँगै खुला बजार अर्थनीति र उदारवादी प्रजातन्त्रको विजय भएको बताए। यसले मानव सभ्यतालाई झनै प्रगतितर्फ अघि बढाउने तर्क गरे। तर २०२३ मा उभिएर हेर्दा त्यस्तो देखिन्छ त?
२०१९ मा हामीले कोभिडको विश्वव्यापी महामारी भोग्यौं। त्यसबाट पनि यो र यीजस्ता महामारी थेग्नका लागि आजको व्यवस्था सक्षम छैन भन्ने बुझियो। त्यति मात्रै नभएर मान्छेबीच प्रजातन्त्रका भ्रमहरू छरिएका छन्। खास खास समयमा हुने निर्वाचनलाई नै प्रजातन्त्र भन्ने गरिएको छ। ती चुनावले साँच्चै नै जनताको आवाजको प्रतिनिधित्व गर्छन् त? उदारवादी 'इलेक्टोरल प्रणाली'बाट चुनिएर कुनै व्यक्ति तानाशाह भएको वा ती व्यक्तिले जनताको इच्छाअनुसार काम नगरेका धेरै उदाहरण छन्।
कतिपय अवस्थामा त दलीय वा व्यक्तिगत 'सिन्डिकेट'कै कारण जनभावना निमोठिने गरेको छ। आफ्नो दल वा आफू वरपरभन्दाका मान्छेलाई उनीहरू हत्तपत्त माथि पुग्नै दिँदैनन्। देख्नलाई त यी व्यवस्था प्रजातन्त्र हुन् तर वास्तवमा त्यो प्रजातन्त्र हो त?
खुबै प्रजातान्त्रिक भनिने अमेरिकाले अपनाउने दोहोरो मापदण्डको कुरा गरौं। अमेरिका ती व्यक्ति र देशलाई मात्र प्रजातान्त्रिक मान्छ, जो उसको हितमा छन्। उसको विरोधी कोही कतै सत्तामा आए भने त्यस बिरुद्ध लाग्छ। 'स्यामुएल पि हन्टिङटन'को शब्दमा यो डेमोक्रेसी प्याराडक्स (प्रजातान्त्रिक विरोधाभास) हो। उदाहरणका लागि ह्युगो चाभेजलाई लिन सकिन्छ। भेनेजुएलाका जनताले भारी मत दिएर उनलाई सत्तामा पुर्याए। तर अमेरिकन मिडियाले उनलाई जहिले पनि तानाशाहको बिल्ला लगाए।
जबकि संसारमा धेरै तानाशाहहरू छन्, जो विना निर्वाचन या सैनिक कुमार्फत सत्तामा आएका छन्। तिनलाई भने अमेरिकाको आशीर्वाद प्राप्त छ र तीविरुद्ध बिरलै अमेरिकन मिडियाले समाचार छाप्छन्। 'तानाशाह' भनेर अमेरिकी/पश्चिमी मिडियाले गाली बेइज्जती गर्दैनन्। यो खालको विरोधाभासको चोम्स्की खुलेर विरोध गर्छन्।
स्वतन्त्रताको कुरा गर्दा मूलभूत रूपमा प्रजातान्त्रिक भनिने मुलुकहरूमा वाक स्वतन्त्रता छ भनिन्छ। चोम्स्कीले 'क्रोनिकल अफ् डिसेन्ट' नामको पुस्तकमा तानाशाही व्यवस्था र प्रजातान्त्रिक व्यवस्थाको वाक स्वतन्त्रताबीचको अन्तर दर्शाएका छन्। तानाशाही व्यवस्थामा एउटा पर्दा लगाइएको हुन्छ, कोही चतुर मान्छे छ भने उस/उनले पर्दा उघारेर त्यहाँबाट बाहिर हेर्न पनि सक्छ। तथाकथित लोकतान्त्रिक व्यवस्थामा चाहिँ मान्छेहरू निश्चित सीमाभित्र जति पनि बहस गर्न पाउँछन्, तर नागरिकले सीमा नाघेर जालान् कि भन्ने विषयमा शासकहरू सचेत हुन्छन्। शासकले जालझेल गरेर यस्तो संयन्त्र निर्माण गरेका हुन्छन् कि कोही मान्छे संयन्त्रबाहिर जानेबारे सोच्नै सक्दैन।
एउटा उदाहरण, अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदार झैँ सम्झन्छ। तर एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ? जबकि यिनीहरूले अमेरिकाको पोल खाेल्ने मात्रै काम गरेका हुन्। साँच्चै नै अमेरिकाले प्रजातन्त्र र वाक स्वतन्त्रताको पक्षपोषण गर्थे भने त यिनीहरू आफ्नो देशबाटै भाग्नुपर्ने या डराउनुपर्ने अवस्था त आउँदैनथ्यो होला नि त!
चाेम्स्कीको परिकल्पनाको समाज
अन्ततः चोम्स्की अराजकतावादकै वकालत गर्छन्, जहाँ शासक, शासित र राज्य हुँदैन। कोही पनि मान्छे बिना रोकतोक जहाँसुकै जान सकोस्। निजी सम्पत्ति नभएको त्यस्तो व्यवस्थामा उनी विश्वास गर्छन्। तर त्यो धेरै आदर्शवान् कुरा भयो। कार्ल मार्क्स पनि यस्तै सोच राख्थे। मिखाइल बाकुनिनको पनि अन्तिम आदर्श त्यही हो। हामी त्यता नजाऔँ, तर आज संसारभर व्याप्त अभ्यास हेर्दा चोम्स्की केही नभए पनि पनि सामाजिक हित (पब्लिक वेलफेयर) का कुरा उठाउँछन्। उनी अमेरिकाकै सन्दर्भमा जनतालाई सहज शिक्षा र स्वास्थ्यका पक्षमा व्यापक आवाज उठाउँछन्।
नागरिक खाइ नखाई कर तिर्छन्। त्यो कर अन्ततः नागरिककै हित र हकहितका लागि खर्च गरिनुपर्ने हो, तर त्यसको चुहावट हुने गर्छ। अमेरिकन प्रणालीकै कुरा गर्दा चोम्स्की बारम्बार गोरभिडेलको एउटा भनाई उल्लेख गर्छन्, 'नाफाको निजीकरण र घाटाको सामाजिकीकरण।'
अमेरिकाले जतिखेर इराक आक्रमण गर्यो, त्योबेला अमेरिकन ढुकुटीमा रहेको पैसा लगेर नै इराक ध्वस्त बनाइएको हो, जबकि त्यसमा खर्च भएको पैसा त अमेरिकन जनताको नै थियो। तेल कब्जाका लागि त्यो काम गरिएको थियो।
राज्यको पैसा खर्च गरेर गरिएको युद्धले अन्ततः इराकको तेल हेलिबटन, टेक्साको, ब्रिटिस पेट्रोलियम र एक्सनवेलजस्ता निजी कम्पनीको पोल्टामा गयो। राज्यले गरेको खर्चको लाभ अन्ततः निजी व्यक्ति र कम्पनीहरूको हातमा पुग्यो। चोम्स्की भन्छन्, "राज्यले नागरिकलाई साथ दिन सक्नुपर्छ। राज्य कसैको सनकमा भन्दा पनि सामाजिक आवश्यकताका आधारमा चल्नुपर्छ।" तर त्यस्ता देश संसारमा थोरै छन्।
भाषा प्रयोगको राजनीति
इजरायल-प्यालेस्टाइन तथा रसिया-युक्रेन संकटका दुई उदाहरण हामीमाझ अहिल्यै छन्। अलिअघि बिबिसीले आफ्नो समाचारमा प्यालेस्टिनीको ज्यान जाँदा 'प्यालेस्टिनी मरे' भन्थ्यो, तर इजरायलीको ज्यान जाँदा 'इजरायली मारिए' उल्लेख गर्थ्यो। यसरी सोचविचारपूर्वक भाषाको प्रयोग गरेर आफ्नो पूर्वाग्रही धारणाको पक्षपोषण तटस्थ भनिने मिडियासमेत गर्छन्। क्युबामा १९६० देखि क्युबामाथि अमेरिकाले लगाएको नाकाबन्दी छ। त्यो नाकाबन्दीलाई पश्चिमी मिडियाहरू 'व्यापार अवरोध' भन्छन्, 'आर्थिक नाकाबन्दी' भन्दैनन्।
उनीहरू किन पनि यसो गर्छन् भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नाकाबन्दी त्यस ठाउँमा लगाइन्छ, जहाँ युद्ध भइरहेको हुन्छ। उतिखेर अमेरिका र क्युबाबीच त युद्ध भएको थिएन। अमेरिकाले भनेजस्तो शासनसत्ता नआएकै कारण मात्र क्युबामा उसले नाकाबन्दी लगाइएको हो। तर त्यस नाकाबन्दीलाई उनीहरू व्यापार अवरोध मात्र भन्छन्। प्यालेस्टाइनी बसेको ठाउँमा इजरायलीले कब्जा गरे। त्यहाँ प्यालेस्टिनीको जग्गा खोसिएको या अतिक्रमित भएको हो, तर पश्चिमी मिडिया त्यसलाई 'विवादास्पद जमिन' भन्छन्। यसरी मिडियाहरू आफू अनुकूलको भाष्य बनाउँछन् या सामान्यीकरण गराउँछन्।
स्टान्ली कार्जनोवको 'भियतनाम अ हिस्ट्री' भन्ने किताब छ। भियतनाम र अमेरिकाबीचको युद्धमा भियतनाम पक्षले मान्छे मारेको कुरालाई भने त्यहाँ 'आतंकवाद' भनिएको छ, त्यही काम अमेरिकाले गर्दा त्यसलाई आतंकवाद भनिएको छैन, 'एट्रोसिटी' (अत्याचार) मात्र भनिएको छ। अत्याचार पनि अन्ततः आतंकवाद नै हो, तर दुई शब्दको लोकप्रियता हेर्ने हो भने आतंकवाद शब्द सबैले बुझ्ने शब्द हो भने एट्रोसिटी खास वर्गले मात्र बुझ्छ।
अर्को कुरा आउँछ, भाष्यको। चोम्स्की बारम्बार भन्छन्, "वाक्यलाई कतृ वाच्य (एक्टिभ भोइस) बाट कर्म वाच्यमा (पेसिभ भोइस) लैजाने हो घट्नाबारेचाहिँ थाहा हुन्छ, तर त्यो काम कसले गरेको थाहा हुँदैन।" अमेरिकाले अफ्रिका, युरोप या विश्वभर नरसंहार मच्चायो, कोलम्बसले अमेरिकामा नरसंहार गरे, आदिवासीहरूको कत्लेआम गरे। यी सबै भाष्यलाई पनि कर्म वाच्यमा उल्लेख गरिन्छ भनेर उनले आफ्नो किताब 'क्लास वारफेयर'मा उल्लेख गरेका छन्।
अहिले पनि त्यस्तो पूर्वाग्रह बोक्ने लेखक प्रशस्त छन्। जस्तै: युबल नोहा हरारीको किताब 'स्यापियन्स'मा १९६४ मा ब्राजिलमा सैनिक तानाशाहको स्थापना गरियो भनेर उल्लेख छ। तर त्यो अधिनायकत्वको स्थापना अमेरिका (सीआईए) ले नै गरेको थियो। सो कुरा भने किताबमा गायब छ। यसरी भाष्यको मार्फतबाट पनि मान्छेलाई झुक्क्याउने अभ्यास हुन्छ संसारमा।
लोकप्रियतावाद र दक्षिणपन्थबारे
यो उमेरमा पनि यी विषयको खरो विरोध गर्छन् चोम्स्की। अमेरिकन दक्षिणपन्थ (रिपब्लिक विचार) जलवायु परिवर्तनको विषयमा उदासीन छ। उनीहरू जलवायु परिवर्तन भन्ने कुरा नै छैन, चिनियाँहरूले बनाएको यो नक्कली विषय हो भन्ने ठान्छन्। जलवायु परिवर्तन रोक्नेबारे यिनीहरू पहलकदमी लिँदैनन् रिपब्लिकनहरू। यस्तो खाले वितण्डाकारी सोचले पृथ्वीको स्वास्थ्य र भविष्यमै खतरा पर्न जान्छ।
स्टेफन हकिङले त आफ्नो अन्तिम दिनमा यही तालमा मानव समाज अघि बढ्ने हो भने पृथ्वीको आयु अब पाँच सय वर्ष पनि नरहेको बताए। दक्षिणपन्थी र लोकप्रियतावादीहरूको अवैज्ञानिक सोचले मानव जीवनमै चुनौती त थपेकै छ, सँगै संस्कृति, मान्यता र धर्मका नाममा मान्छे मार्ने काम पनि भइराखेको छ।
दक्षिणपन्थले खास धर्म र संस्कृतिको प्रवर्द्धन गर्छन्, विद्वेषमार्फत शक्ति आर्जन गर्छन्। सोही कारण चोम्स्की नरेन्द्र मोदीको विरोध गर्छन्। एर्दोगान, बोल्सेनारो र ट्रम्प आदिको विरोध गर्दै हिँडे। यस्ता शासकहरूको कदमका कारण आम मान्छेले दुःख पाइराखेका छन्। यिनीहरू एउटा व्यक्ति मात्रै होइनन्, यिनीहरू समग्र राज्य र संस्थाका रूपमा विकसित भइराखेका छन्। यिनको कामको कारण सर्वसाधारण चाहिँ मारमा पर्ने गरेका छन्। उनले यस्तो कुराको निरन्तर विरोध गरेका छन्।
पुँजीवादको वातावरण विनाशमा सम्बन्ध
पुँजीवादको मूल मन्त्र नाफा हो। नाफाका लागि जुनसुकै हदसम्म गिर्न र गिराउन पुँजीवाद तयार छ। आजका दिनमा विद्युतीय यातायातको साधनलाई मात्र प्रवर्द्धन गर्ने हो भने जलवायु परिवर्तनका असरलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ, तर यसलाई डिजेल र पेट्रोलियम पदार्थको व्यापारले छेकिरहेको छ।
यो किम्ति धन्दा रोक्न पुँजीवाद चाहँदैनन्। महामारी फैलिएको बेला केही मेडिकल कम्पनीसँग भ्याक्सिनको प्याटेन्ट अधिकार थियो। उनीहरूले मात्रै त्यसको उत्पादन र व्यापार गर्न पाउने भन्ने थियो। भारत र दक्षिण अफ्रिकाजस्ता देशले त्यो प्याटेन्ट हटाएर सहजै त्यसको उत्पादन र वितरण खुला गर्न माग गरे, तर त्यसो गर्न दिइएन र समयमै भ्याक्सिन नपाएका कारण कैयौँ मान्छेको ज्यान गयो। पुँजीवादमा यसरी मान्छेको जीवनभन्दा ठूलो नाफा भयो।
आजका दिनमा कतिपय जीवनदायी औषधीमा खास कम्पनीहरूको प्याटेन्ट छ, जसका कारण नाफाखोरहरू निरन्तर धनी भएका छन्। औषधी किन्न नसक्ने या त्यसको पहुँच नहुनेहरू मारमा परेका छन्। जीवन छोट्याउन या गुमाउन बाध्य छन्। पिटर क्रोपुट्किन भन्ने अराजकतावादी दार्शनिक छन्। उनी भन्छन्, "प्याटेन्ट कसैको निजी हुँदैन। एउटा प्रविधि, औषधी या उत्पादन बनाउन त्यस व्यक्तिभन्दा अघि अनेकौँ मान्छे लागेका हुन्छन्।" त्यसो हुँदा कुनै सिर्जनाको लागि एकै व्यक्ति वा कम्पनीलाई श्रेय या लाभ दिने कुरा अनुचित हो।
पुँजीवादले धनी र गरिबबीचको खाडल पनि बढ्दो छ। अमेरिकामै हेर्ने हो भने श्वेतहरूको हातमा धेरैभन्दा धेरै सम्पत्ति छ। दुई चार सय वर्षको इतिहास हेर्ने हो भने अफ्रिकाबाट लगेका दासहरूलाई शोषण गरेर नै उनीहरूले आफ्नो धनको साम्राज्य खडा गरेका हुन्। तिनै श्वेतहरू भनिरहेका छन्, "जोसँग पैसा छ, उसैले नाफा खान्छ," जबकि ऐतिहासिक तथ्यले त उनीहरूको कुरा विरोधाभासपूर्ण लाग्छ।
किसिन्जरका कडा आलोचक
अमेरिकाको महत्त्वपूर्ण पदमा धेरै समय काम गरेका व्यक्ति थिए किसिन्जर। अमेरिकाले विश्वभर लादेका प्रमुख युद्ध र तिनको नीति निर्माणमा किसिन्जरको भूमिका थियो। उनलाई कूटनीतिज्ञ भनिए पनि उनले गरेको कामलाई कूटनीति भन्न गाह्रो छ। कूटनीतिले त कुनै पनि समस्याको शान्तिपूर्ण समाधान गराउँछ। किसिन्जरले त्यस्तो काम गरे त? पक्कै गरेनन्। भियतनाममा गरेर बम वर्षा गराएर कस्तो शान्तिको इतिहास रचियो? जबकि त्यसका योजनाकारहरूमध्ये किसिन्जर हुन्।
पेरिस सम्झौतामा हस्ताक्षर गरेपछि तिनलाई शान्ति पुरस्कार दिइयो, त्यो अर्को कुरा भयो। अर्जेन्टिनाका नवनाजीलाई बोक्ने काम त किसिन्जरले नै गरे। ल्याटिन अमेरिकाका धेरै देशमा सैनिक कु गराउनेदेखि निहत्था जनता मार्ने काममा किसिन्जरको नीतिको भूमिका रह्यो। कतिसम्म भने चोम्स्की "हरेक विश्वयुद्धपछाडिका अमेरिकन राष्ट्रपतिहरू झुन्ड्याइनका लागि योग्य छन्" समेत भन्छन्। किसिन्जर त तिनै राष्ट्रपतिहरूका सारथि थिए। त्यस कारण, चाेम्स्की किसिन्जरसँग असहमत हुन नौलो भएन।
असमान आर्थिक वितरणबारे चोम्स्की
थोमस पिकेटीको सन् २०१२ मा प्रकाशित क्यापिटल 'इन् द ट्वन्टी फस्ट सेन्चुरी' किताब छ। किताबमा "यदि संसारको सम्पूर्ण जीडीपीलाई संसारका सबै नागरिकबीच बराबर भाग लगाउने हो भने एउटा व्यक्तिको भागमा ७६० युरो मासिक रूपमा पर्न आउँछ" भन्ने उल्लेख छ। अहिले सो तथ्यांकमा अलिकति तलमाथि भयो होला। जबकि सन् २०१५ को वर्ल्ड बैंकको रिपोर्ट अनुसार विश्वका २ अर्ब मान्छेको दैनिक आम्दानी १.२५ डलरभन्दा कम छ। अहिले त झनै गरिबीको संख्या झनै बढिराखेको छ।
जबसम्म समाजमा आर्थिक न्याय हुँदैन, तबसम्म मान्छेले पूर्ण रूपमा आफ्नो सामर्थ्य देखाउन सक्दैन। प्रकृतिका स्रोत र साधनलाई प्रयोग गर्दै कोही मान्छे अति धनी र कोही अति गरिब हुने कुरा आफैँमा तर्कपूर्ण छैन। चोम्स्की आफैँ पनि न्यायमूलक समाजको आदर्श बोक्ने मान्छे हुन्। आर्थिक भेदको कुरालाई उनी स्वतः आलोचना गर्छन्। अतः चोम्स्कीको आदर्श सही छ। त्यसलाई कार्यान्वयन गर्नेतर्फ समाजको सचेत तप्काले हर ठाउँबाट प्रयास गर्नुपर्छ।
चोम्स्कीको जन्मदिनको अवसर पारेर यो सामग्री प्रकाशित गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
