प्रधानमन्त्री र बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

बालुवाटारमा भएको शिष्टाचार भेटमा आपसी हित र सहकार्यका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

तस्वीर: रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक एवं दक्षिण एशियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियल एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ। 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा आपसी हित र सहकार्यका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बुधबार काठमाडौँ आएकी लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गरिसकेकी छन्। 

लाउबाचर दक्षिण एशिया क्षेत्रलाई नजिकबाट हेर्ने अमेरिकी अधिकारी हुन्। उनले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीका रूपमा काम गरेकी छन्।