माझी समुदायको मौलिक बाजा संरक्षणमा पालिकाको पहल

सीमान्तकृत समुदायमा पर्ने माझी जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि मन्थली नगरपालिकाले संरक्षणको योजना बनाएको छ। 

मन्थली– रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएका छन्। 

माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा आवश्यक पर्ने ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो। पछिल्ला वर्षमा ढोलक, मादल र झ्याली पाइन छाडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीय बलबहादुर माझीले बताए। 

युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभावलगायत कारणले बाजाहरू लोप हुँदै गएको उनको भनाइ छ। 

 रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ। सीमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ। 

मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान संघले संरक्षणको काम थालेको छ। पहिलो चरणमा विभिन्न बाजाहरू संकलन गर्ने, निर्माण गर्ने र यससम्बन्धी तालिम प्रदान गर्ने नगरपालिकाको योजना छ।

संघका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ। माझी समुदायको संस्कार संस्कृत लोप हुँदै जाँदा उनीहरूको अस्तित्व नै संकटमा पर्ने खतरा बढेपछि पालिकाले यसमा चासो देखाएको अध्यक्ष माझीले बताए। 

संस्कृतिसँग जोडिएका बाजा लोप हुँदै जाँदा माझीको अस्तित्व नै संकटमा पर्ने अवस्था आएपछि संरक्षणका काम थालिएको नगरप्रमुख लव न्यौपानेले बताए।