चितवनमा १० प्रतिशतले घट्यो धान उत्पादन

चितवनमा यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।

फाइल तस्वीर

चितवन– जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार ३५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार १९० मेट्रिक टन धन उत्पादन भएको छ।

यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।

गत वर्ष २७ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख २४ हजार ७६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए।

सो वर्ष उत्पादकत्व ४.६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो। उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार ५७२ मेट्रिकटन धान उत्पादन घटेको हो। धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए।

“समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो,” उनले भने। 

समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए। धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए।