रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

उनले अमेरिका जान जनही ४५ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक तीन लाख रुपैयाँ तलब हुने प्रलोभन देखाएका थिए।

काठमाडौँ– रोजगारीको लागि अमेरिका पठाउने भन्दै ६४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

कैलाली टिकापुर घर भइ काठमाडौँ बस्दै आएका २८ वर्षीय रमेश न्यौपानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ गरेको हो। पीडितले पक्राउ गरिपाउँ भनेर वैदेशिक रोजगार विभागमा दिएको उजुरीको आधारमा बुधबार रमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गणेश अधिकारीसहित पाँच जनाबाट पटकपटक गरी ६४ लाख ४५ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन रहेका थिए। उनले अमेरिका जान ४५ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक तीन लाख रुपैयाँ तलब हुने भन्दै पीडितलाई प्रलोभन देखाएका थिए। यस्तै प्रतिष्ठित होटलमा काम लगाउने लोभ देखाएका थिए। अहिले उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार कार्यालय, ताहचल पठाइएको छ। 

पछिल्लो समय अमेरिका तथा युरोपेली देशमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढेको छ। कसैको प्रलोभनमा नपरेर कानूनी रूपमा दर्ता भएका म्यानपावरमार्फत वैधानिक तवरमा मात्रै वैदेशिक रोजगारीमा जान विभागले अनुरोध गर्दै आएको छ।