गाउँ पुग्दैछ कालोपत्रे सडक, सुगम हुँदैछन् दुर्गम बस्ती

सडक सुविधा सहज बनेपछि गाउँलेहरू कृषि उद्यममा लागेका छन्। पहिले बसाइँ सरेर तराई गएकाहरू पनि फर्किन थालेका छन्।

धनकुटा– दुर्गम गाउँ दुई जिल्ला जोड्ने कालोपत्रे सडक सञ्जालले छोएपछि धनकुटाको छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन्।

धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म २३ किलोमिटर कालोपत्रे सडक निर्माणको अन्तिम चरणमा छ। स्थानीय मार्से गाउँका शंकर ओझाले भने, “यस सडकले  गाउँपालिका– ५ साबिकको तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ। यो सडक हाम्रो गाउँका लागि कोशेढुंगा नै बनेको छ।”

उनका अनुसार पहिला कच्ची सडक हुँदा सवारी साधनलाई आवतजावत गर्न समस्या थियो। सो समयमा यहाँका नागरिक भौगोलिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँ सरेर जान बाध्य थिए।

सडक कालोपत्र भएपछि यहाँबाट बसाइँसराइ जान छाडेको र मानिसले सब्जी तथा पशुपालन फार्म खोलेर उद्यमतिर लाग्न थालेको बताए। “पहिला सित्तैमा लैजाऊ भन्दासमेत कसैले नलाने यस क्षेत्रको फलफूल सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन्,” उनले भने।

यस क्षेत्रका मानिस सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी–हिलेबजार हुँदै ३४ किमि घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए।

छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा कालोपत्रे सडक आउँदा आफूहरूको भारी बोकेर उकालीओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताए।

साबिक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी कच्ची सडक पार गरेर जानुपर्थ्यो। त्यसको विकल्पमा करिब १५ देखि १८ किमि हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो।

तर अहिले ती समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ छ। “भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ,” उनले भने। 

गाउँमै कालोपत्र सडक आएपछि प्रतिरोपनी पाँच हजारमासमेत बिक्री नहुने जमिन अहिले छ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उनले बताए।

साबिक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सडकका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिए। पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्रै भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएको उनले बताए।

सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहज रूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ छ। 

प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगोलिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना शुरू गरिएको जानकारी दिए।

अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन्। धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुम जाने सडकसमेत बजार बाहिरबाट गएको छ। यसका कारण धनकुटा बजारमा व्यापारिक चहलपहल ठप्पजस्तै छ।

तेह्रथुम जोड्ने यस सडक पूर्ण रूपमा निर्माण भएपछि यी बजारले पुनर्जीवन पाउने उनको जिकिर छ। यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उनले जानकारी दिए।

यही पुस मसान्तसम्ममा काम सक्ने गरी २०७६ सालमा शर्मा भीमेश्वर जेभीले सडकको ठेक्का पाएको थियो। यसमा प्रदेश सरकारको ५६ करोड ५२ लाख बजेट छ। 

सडक निर्माणको ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए।