गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम: छोरी जन्मिए ५ हजार

समाजमा छोराछोरीबीच विभेद केही कम भए पनि पूर्ण रूपमा हटिनसकेकाले छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि ‘नगरकी छोरी’ कार्यक्रम शुरू गरिएको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्। 

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम शुरूआत गरेको छ। 

चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटबाट ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

गल्याङका ११ वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीको नाममा बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्। 

“छोरीको प्रोत्साहनका लागि नगरकी छोरी कार्यक्रम सञ्चालन गरेका हौँ,” उनले भनिन्, “यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ।” छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिने उनले बताइन्। 

बिहीबार गल्याङ–३ स्थित एक नवजात शिशुको नाममा खाता खोलेर नगरकी छोरी कार्यक्रमको थालनी भएको हो।

“हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिक रूपमा कायमै छ,” उपप्रमुख न्यौपानेले भनिन्, “हाम्रो प्रयास छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ।”

नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन। छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको नगरपालिकाले जनाएको छ। “नगरपालिकाले खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ,” उनले भनिन्, “तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिक रूपमा पनि सबलतातर्फ लैजान्छ।” 

नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोसिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम पनि सञ्चालनमा छन्।