विद्युत् प्राधिकरणले जेठदेखि मंसिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन भएको जनाएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको जनाएको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत २८ जेठबाट भारतीय बजारमा बिक्री गर्न शुरू गरेको थियो।
प्राधिकरणले यस वर्षको जेठदेखि मंसिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन भएको जनाएको छ। प्राधिकरणका अनुसार यस अवधिमा दैनिक रूपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरिएको थियो। निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा हो।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिर २० गतेसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ।
शुख्खायाम शुरू भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत्गृहहरूबाट उत्पादन घट्न शुरू भएको छ। तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात शुरू भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुने छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार ७०० मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात शुरू गरिएको बताए।
“अहिले विद्युत् उत्पादन र माग करिब–करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत्गृहहरूमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक समयमा चलाइरहेका छौँ,” कार्यकारी निर्देशक घिसिङले भने।
उनका अनुसार पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ। त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात शुरू गरिएको हो। उनले चैत्र र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए।
“आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः शुरू हुने छ, यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ,” घिसिङले थपे, “दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरूको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रूपमा करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ।”
प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन) बिक्री गरिरहेको थियो। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
