राज्य व्यवस्था समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे प्रधानमन्त्रीसँग जानकारी लिने

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको छ।

काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद–बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ।

शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो।

सोमबार नै प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताए। 

“२५ गते सोमबार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो र अहिलेको अवस्था के हो? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय गरौँ,” उनले भने।

मलेसियन कम्पनी आजिआटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका शतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले समेत प्रधानमन्त्रीलाई बोलाएर यस सम्बन्धमा धारणा लिने निर्णय गरेको थियो। सरकारले एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। यस विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ।

समितिले प्रधानसेनापतिलाई आगामी बुधबार काठमाडौँ–तराई/मधेश द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि समिति सभापति खतिवडाले जानकारी दिए।

आगामी दिनमा समितिको बैठक नियमित रूपमा बसेर विधेयकहरूमाथि छलफल गर्नुपर्ने भन्दै सभापति खतिवडाले समिति सदस्यहरूलाई नियमित रूपमा बैठकमा उपस्थित हुन आग्रह गरेका थिए।