आगामी निर्वाचनको लागि एमालेले चुनावी रणनीति र उम्मेदवार छनौटको मापदण्ड बनाउन शुरू गरेको छ ।
काठमाडौं– ‘एमालेले आगामी निर्वाचनमा एक्लै जित्ने गरी तयारी गर्छ। तर, चुनावी तालमेलको ढोका बन्द हुँदैन, गठबन्धन भने बनाएर जाँदैनौं,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा भनेका छन्।
उनले एमालेसँग लोकप्रिय मत रहेको भन्दै बहुमत ल्याउने गरी निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्त जानकारी गराएका ओलीले पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भए पनि एमाले कमजोर नरहेकाले एक्लै चुनावी मैदानमा होमिने बताए।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र, उम्मेदवार छनोटलगायत विषयमा एमालेले विभिन्न कमिटीका बैठक आह्वान गरेको छ। मंगलबारको स्थायी कमिटी बैठकमा शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
चुनावी रणनीति बनाउन पोलिटब्युरो बैठक भदौ ९ गते तथा केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ। भदौ १२ गते निर्वाचन परिचालन कमिटीको पनि बैठक बस्दैछ। गएको मंगलबारको बैठकमा ६ प्रदेशका इन्चार्जहरूले आ–आफ्नो प्रदेशको राजनीतिक तथा सांगठानिक अवस्थाबारे रिपोर्टिङ गरेका छन्।
बैठकले सचिवालयले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ। त्यस्तै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठनको निर्णयलाई पनि अनुमोदन गरेको छ। केन्द्रीय कमिटी तथा सल्लाहकार परिषद् र विभिन्न विभागका सचिवमा गरिएको मनोनयनको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।
यी हुन् उम्मेदवार छनोटका मापदण्ड
एमालेले भदौ २० गतेभित्रमा उम्मेदवारको नाम सिफारिस गर्न तल्ला निकायमा सर्कुलर जारी गरिसकेको छ। अब केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको मापदण्ड पारित गर्ने छ। जिल्लाले त्यसका आधारमा प्रदेशलाई र प्रदेशले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने छ।
सोमबार बसेको स्थायी कमिटी बैठकमा उम्मेदवार छनोटका लागि पाँच वटा मापदण्डलाई आधार मान्ने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी बैठकले पनि तिनै मापदण्ड पारित गर्ने र त्यसका आधारमा नै उम्मेदवार छनोट हुने बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
एमालेले उम्मेदवार छनोटका लागि पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध भएको हुनुपर्ने, आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय रहेको र जितको सुनिश्चितता भएको हुनुपर्ने, पार्टी आन्दोलनमा होमिएको र पार्टीप्रति निष्ठावान रहेर काम गरेको हुनुपर्ने, सन्तुलन र समावेशी सिद्धान्त र निर्वाचन कानुन बमोजिम योग्यता पुगेको व्यक्ति हुुनुपर्ने मापदण्ड प्रस्ताव गरेको छ।
ती स्थायी कमिटी सदस्यका अनुसार उम्मेदवार छनोट गर्दा पार्टीले यी मापदण्डलाई नै प्राथमिकतामा राख्ने छ। ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा केही प्राविधिक त्रुटिसमेत भएकाले पराजय भोग्नु परेको विषयमा पार्टी नेतृत्व सजग बनेको छ,’ अर्का स्थायी कमिटी सदस्यले भने, ‘यसपटक उम्मेदवार छनोटमा धेरै विषयलाई ध्यानमा राखेर विवाद नहुने गरी सके सर्वसम्मत रूपमा नै चयन गर्ने भन्ने रणनीति छ।’
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार शुक्रबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको मापदण्ड पारित गर्ने र त्यसका आधारमा नै उम्मेदवार छनोट हुने छन्। ‘प्रदेशसभाका लागि प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रतिनिधि सभाका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले प्रारम्भिक नाम सिफारिस गर्ने व्यवस्था छ,’ उनले भने, ‘जिल्लाले सुझावसहित प्रदेशमा पठाउँछ र त्यसपछि प्रदेशले केन्द्रमा पठाउँछ।’
एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा प्रत्येक प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट अनिवार्य रूपमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि २०७४ सालको निर्वाचनमा पनि एमालेले यही शैली अपनाएको थियो।
तल्ला कमिटीबाट सकभर सर्वसम्मत रूपमा नै नाम पठाउनुपर्ने एमालेले सर्कुलर जारी गरेको छ। त्यसो हुन नसकेको अवस्थामा मात्रै आन्तरिक निर्वाचनमार्फत् उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
