पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको नाम अनुमोदित

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।

काठमाडौँ– संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रस्तावित राजदूत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति (ज्येष्ठ सदस्य सभापति) पशुपतिशमशेर जबराले जानकारी दिए।

“आजको समितिको बैठकले सनिल नेपालको सम्बन्धमा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई पोर्चुगलको राजदूतमा नियुक्तका लागि अनुमोदन गर्ने निर्णय भयो,” उनले भने।

गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि राजदूतमा उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि बैठकमा प्रस्तावित राजदूत नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने उनको भनाइ थियो। सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।