ताप्लेजुङको फुङलिङस्थित १ घरमा आगलागी, ५ लाख बराबरको क्षति

शनिबार बिहान फुङलिङ नगरपालिका–५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको छ।

तस्वीर: रासस

काठमाडौँ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको धनमाल नष्ट भएको छ। 

शनिबार बिहान फुङलिङ नगरपालिका–५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट ढुंगा, माटो र जस्तापाताको प्रयोग गरिएको घर पनि पूर्ण रूपमा जलेको छ। 

घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडालगायत सामग्री जोगाउन नसकिएको स्थानीय विष्णु तिवारीले जानकारी दिए। 

नजिकै रहेको अर्को घर भने जोगाउन सफल भएको उनले बताए। नगरपालिकाको दमकल, सेना, प्रहरी तथ स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ। 

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।