बर्दिबास खानेपानीको बक्यौता २ करोड १४ लाख, संस्था नै संकटमा

खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिने गरेको छ। यसबापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्।

महोत्तरी– महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजारभन्दा बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक संकटमा परेको छ।

धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक संकटमा फस्दै गएको हो। संस्थाको बक्यौता चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्म दुई करोड १४ लाख रुपैयाँ नाघेको छ।

संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झन्डै उपभोक्ता १०० हाराहारी पुगेका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले बताए। यसरी खानेपानी महसुल तिर्न अटेर गर्ने गृहस्थभन्दा कारोबारी संस्था र व्यापारिक घरानाका उपभोक्ता धेरै रहेकको उनको भनाइ छ। 

“संस्थामा १२ वर्षदेखि महसुल नबुझाउने पनि रहेछन्,” कोषाध्यक्ष फुयाँलले भने, “आर्थिक रूपले विपन्न देखिनेले बरु समयमै तिरेका छन्, हुनेखानेले महसुल बुझाउने काममा अटेर देखिएको छ।” यसरी धेरै बक्यौता महसुल राख्नेमा सातवटा गैरसरकारी संस्था, छ वटा चलेका ठूला होटल, दुईवटा निजी तवरले सञ्चालित अस्पताल, दुईवटा सरकारी कार्यालय, दुईवटा विद्यालय र सम्पन्न घरानाका गनिने व्यापारी रहेका छन्। 

बैसाखमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि अपेक्षित असुली हुन सकेको छैन। पछिल्लो चरणमा कार्यालय व्यवस्थापनले महसुल नबुझाउने उपभोक्ताको  धारा काट्नेसम्मका कारबाही शुरू गरिएको छ। केही उद्योगले त पानी चोरेरसमेत प्रयोग गरिरहेको पाइएको समितिले जनाएको छ।

पानी संकलन, भण्डारण, पाइप व्यवस्थापन, पानी वितरण र कार्यालय व्यवस्थापनमा मासिक १२ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। अहिले रकम अभावले समयमा सरसफाइका काम हुन नसकेर केही पानीट्यांकी उपयोगमा आउन सकेका छैनन्। विष्ट टोलमुनिको पानीट्यांकीमा विद्युतीकरण गर्न नसक्दा सेवा प्रवाह बढी खर्चिलो भएको संस्थाका अध्यक्ष भुलनसेन ठकुरीले बताए। 

“पानीट्यांकीमा विद्युत् पुर्‍याउन ४० लाख खर्च हुने अनुमान छ, रकम अभावमा विद्युतीकरण गर्न नसक्दा डिजलपम्पबाट पानी तानिँदा प्रतिमहिना छ लाख बढी खर्च हुँदैछ,” अध्यक्ष ठकुरीले भने, “पुरानो बक्यौता नआउँदा संस्था आर्थिक संकट बेहोर्दैछ।” रकमकै अभावमा विद्युतीकरण हुन सकेको छैन।

संस्थाका बर्दिबास नगरपालिका १, २, ३ र १४ का करिब छ हजार उपभोक्ता छन्। यी उपभोक्तालाई स्वच्छ  खानेपानीको सुविधा उपलब्ध गराउनु मुख्य जिम्मेवारी रहेको संस्था आर्थिक संकटमा फस्दा गर्नुपर्ने काम प्रभावित हुँदै आएका छन्। आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै संस्थाको कार्यसमितिले बक्यौता महसुल नबुझाउनेको धारा काट्ने निर्णय गरेको अध्यक्ष ठकुरीले बताए। 

खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिन्छ। यसबापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्। खपत बढे महसुल पनि बढ्दै जान्छ। विगत बक्यौता महसुल असुलउपर गर्न र धारा छेडछाड गर्नेविरुद्ध कारबाही हुने संस्थाका पदाधिकारीले बताउँदै आएका छन्। “हामीले पर्याप्त जनाउ र समय दिन पर्छ, त्यो हामीले गर्दै आएका छौँ, अब कारबाहीको चरण थालिन्छ,” ठकुरीले भने, “संस्थासँगको अटेर सह्य हुँदैन।”

संस्थाबाट पाउने सहुलियत सबैले पाउने ठकुरीको भनाइ छ। यसपालि दशैँ, दीपावली र छठपर्व पारेर गत कात्तिक महिनाको महसुल छुट दिइएको र न्यूनतम शुल्क लाग्ने १० हजार लिटरको सिलिङ्लाई १५ हजार लिटर पुर्‍याउने प्रयत्न भइरहेको उनले बताए।