एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि भने चहलपहल बढेको छ।
ढोरपाटन– समुन्द्री सतहदेखि तीन हजार १०० मिटरको उचाइमा रहेको खर्क। वरपर सेताम्य हिउँ। चौबिसै घण्टा चल्ने सिरेठो। माथिपट्टी नांगा डाँडा, घना जंगल। त्यही जंगलको तलपट्टी छ, भेडीगोठ। गोठमा करिब एक हजार हाराहारी भेडा छन्।
नजिकै रहेको मध्यपहाडी लोकमार्ग भएर दैनिक दर्जनौँ गाडी हर्न बजाउँदै ओहोरदोहोर गर्छन्। ती गाडीका आवाजले भेडी गोठालालाई छुँदैन। उनीहरू आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन्।
एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे। तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ। लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन्। चिसो याममा खाली खुट्टा काम गरिरहेका भेटिन्छन्।
धेरैजसो गोठालाहरू असार र कात्तिक महिनामै बेँसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन्। केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो। चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेँसी झर्ने तरखरमा छन्। अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन्।
उनीहरू भेडाबाख्रा ठूलो संख्यामा भएकाले अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन्। सबैले भेडापालन थालेको दशकौँ बित्यो। पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद ६१ वर्षको भए। उनले भेडापालन थालेको ५३ वर्ष भयो। बाउबाजेले गर्दै आएको पेसालाई अंगालेका गुरुङ आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्ने चाहना रहेको बताउँछन्।
उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जाँगर भने युवाको जस्तै छ। गुरुङका सबै दौँतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन्। नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौंदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ। आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिस पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङको भनाइ छ।
भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुरानो पेसा लोप हुने अवस्थामा पुगेको सुनाए। गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ।
“यो चिसोमा बस्न हामीहरूलाई बानी पर्यो। कहिले हिउँ, कहिले झरी। यो वर्षको पहिलो पटक मंसिरमा नै हिउँ पर्यो, अब गाउँ झर्ने तयारी गरेका छौँ,” गुरुङले भने, “पहिला गोठ, पशुचौपाया र गोठाला मात्रै हुन्थ्यौ, अहिले त लेक पनि निकै रमाइलो भएको छ, दिनदिनै गाडी आउँछन्, गाडी आएपछि हामीलाई पनि धेरै सजिलो भएको छ।”
जंगलमा गाडी गुड्दा पनि रमाइलो लागेको उनको अनुभव छ। पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाला आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले असोजमै बेसी झरेका थिए। निसीखोला र रोल्पामा बेँसीमा पनि चरन क्षेत्र बढी हुँदा उनीहरू पहिले नै झरेका हुन्। पूर्वी रुकुमका गोठाला भने झरिसकेका छैनन्। अहिले पातीहाल्ने क्षेत्रमा जोरप्रसाद पुन पनि छन्। पुनको यहाँ रहेको बथानमा करिब ३०० भेडा छन्। उनले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो। गाउँका सबै पशुपालनमा आबद्ध भएको हुँदा उहाँ पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लागेका थिए।
भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुनले बताए। हिउँदमा बेँसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि १५० बढी भेडाबाख्रा हुने हुँदै उनीहरू बेचेर विदेश जान नसकेको उनको भनाइ छ। आफू अहिलेसम्म कुनै पनि शहरमा नपुगेको उनले सुनाए।
भने, “जहाँ गएर पनि काम गर्नै पर्छ। यहाँ लेक हो। चिसो छ। फोहर कपडा लगाएर हिँड्नुपर्छ। तर कमाइ त यहाँ पनि छ नि,” उनले भने, “अरूको गुलामी गर्नुभन्दा यही मालिक बनेर भेडागोठालो गर्नु राम्रो लाग्छ।” वर्षमा १५/२० वटा भेडाबाख्रा बेचे पनि परिवार चलाउन सकिने उनले सुनाए।
मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
