सरकारले पोखरा र लुम्बिनी विमानस्थल सञ्चालनमा बेवास्ता गर्‍यो: ओली

एमाले अध्यक्ष ओलीले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए। 

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा पोखरा र लुम्बिनी विमानस्थल चलाउन सरकारले ध्यान नदिएको बताएका हुन्। 

यी विमानस्थल चलाउन पाउँदैनौँ भनेर कुनै शक्तिबाट भित्रभित्र दबाब आएको हुन सक्ने बताएका उनले सार्वजनिक रूपमा ती शक्तिले भन्न नसकेको उल्लेख गरे। उनले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए। 

“चीनलाई मात्रै टुरिस्ट लिएर आऊ भन्यो भने ५–१० लाख पर्यटक त ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट। लुम्बिनी चलाउनुपर्‍यो। बुद्धिस्टहरूको ओइरो लाग्छ।” उनले भने, “एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्यान्ड गर्ने हो। के समस्या छ?”

अध्यक्ष ओलीले सरकारले सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुती राख्नुपर्ने बताए। उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको उल्लेख गरे। उनले विकासमा कुनै पनि नेपाली भूभाग पछि पर्नु नहुने बताए।