सडक र गल्लीमा ढुंगा छापेर चिटिक्क पारियो लोमान्थाङ

माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन्। ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ।

म्याग्दी– माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुंगा छापिएपछि चिटिक्क परेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनरुत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याइएको हो।

संघीय सरकारले गत वर्षदेखि शुरू गरेको ढुंगा छपान कार्य प्रभावकारी बनेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकार र गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङलाई थप आकर्षित बनाउन उक्त योजनालाई पूर्णता दिएको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए।

“लोमान्थाङका बस्तीलाई धुलो, हिलो मुक्त र सफा बनाउन पर्खालभित्रको सडक, गल्ली र पैदलमार्गमा ढुंगा छपाउने कार्यलाई निरन्तरता दिएका छौँ,” उनले भने, “पर्खाल बाहिरको सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारमार्फत ढलान हुँदैछ।” ढुंगा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ।

यसअघि बस्तीभित्र छपाएको ढुंगा उप्किएका थिए। कतिपय ठाउँमा ढुंगा छपाइएको थिएन। आयोजनामार्फत आव २०७९/८० मा लोमान्थाङ बस्तीभित्र ढुंगा छपानका लागि करबाहेक एक करोड २७ लाख ६ हजार ५०६ रुपैयाँमा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए।

उक्त ठेक्कामार्फत चार हजार ४४.२५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुंगा छपान भएको आयोजनाका इन्जिनियर योगेन्द्र वस्ताकोटीले बताए। उनका अनुसार चालु आवमा ढुंगा छपानका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुने गरी लोमान्थाङ बस्तीभित्रको सडक ढलान गर्न चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए।

लोमान्थाङ स्वागत गेटबाट लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई शीर्षकमा पाँच करोड रुपैयाँ र अर्को ऐतिहासिक गाउँ वरपर पक्की सडक शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ।

केही दिनअघि लोमान्थाङ पुगेर फर्किएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको लोमान्थाङ बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको छ। लोमान्थाङ पालिकाको केन्द्रसमेत रहेकाले यहाँका सडक र गल्लीमा नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको जनाइएको छ। चोक र सडक छेउमा १५० सडकबत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ।

माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन्। ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ। यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन्। 

प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरता अवलोकनका लागि लोमान्थाङमा पर्यटक आउँछन्। ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ।