मौरीपालनमा जम्दै चोलादेवी, १०० घार पुर्‍याउने लक्ष्य

अहिले मह प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। बजारको समस्या छैन। घरबाटै मह बिक्री भइरहेको चोलादेवीले बताइन्।

गलकोट– बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा छिन्।

उनले यो काम गर्न थालेको तीन वर्ष भयो। “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी थिएँ,” उनले भनिन्, “तर, मौरीपालनमा धेरै फाइदा रहेछ।”

आफ्नो काममा घर परिवारको पनि साथ रहेको उनले सुनाइन्। अहिले चोलादेवीको मौरीफार्ममा मौरीसहितका ४५ वटा घार छन्। यस वर्ष ५५० किलोग्राम मह उत्पादन भएको उनले बताइन्। “अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्,” उनले भनिन्, “४५ वटा बाख्रासमेत पालेको थिएँ। तर बाख्रा पाल्न अलि धेरै खर्च हुने रहेछ। अहिले १० वटा मात्रै बाख्रा छन्। मौरीमा चोखो आम्दानी छ।”

ससुरा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएको मुढेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थालेको उनले सुनाइन्। घरमा अझै पनि केही मुढेघार छन्। “आम्दानी राम्रो छ। गत वर्ष एक लाख ५० हजार अनुदानसमेत पाएकी थिएँ,” उनले भनिन्, “४५ घारबाटै वार्षिक छ लाखभन्दा बढी कमाउन सकिने रहेछ। कम्तीमा १०० घार पुर्‍याउने परिवारको योजना छ।”

आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको उनले बताइन्। चार वर्षअघि कुस्मा पुगेर मौरीपालन तालिम लिएपश्चात् मौरीपालनमा लागेको चोलादेवीले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दंग छिन्। अहिले मह प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। बजारको समस्या छैन। मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाएकी छन्। 

कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष मह उत्पादन वृद्धि कार्यक्रमअन्तर्गत एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताए। बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेकोसमेत उनको भनाइ छ।