अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ तय गरेको छ। 

काठमाडौँ– ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतबार नेपालमा पनि मनाइँदै छ। 

प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ तय गरेको छ। 

संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेको थियो। दिवस भने सन् १९५० मात्रै मनाउन थालिएको हो। यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो। 

मानव अधिकारको विश्वव्यापी घोषणापत्र ५०० भन्दा बढी भाषामा उपलब्ध छ। नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ।

दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरस्थित आयोगको कार्यालयमा कार्यक्रम आयोजना गरेको छ। अन्य सरकारी तथा गैह्रसरकारी संघसंस्थाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।