त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ जना पक्राउ

भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जनकारी दिए। 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५६५ ग्राम सुन बरामद भएको छ।

भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जनकारी दिए। 

सुन लिएर आएका एकजना इजिप्टका र दुई सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू शनिबार राति फ्लाई दुबईको उडानबाट काठमाडौँ उत्रिएका थिए।

“राति ११: ५१ मा दुबईबाट आएको फ्लाइटमा सुन आउँदै छ भन्ने हामीलाई अलिअलि सुराक पनि थियो, सुडानी नागरिकले सुन लिएर आउँदै छन् भन्ने,” डीआईजी चन्दले भने, “त्यसअनुसार फलो गर्दै आएर भन्सारबाट बाहिरिइसकेपछि इजिप्टका नागरिक सरिफ मोहमद लासिमको साथबाट ६ थान अर्धठोस अवस्थामा बिस्कुट आकारको सुन बरामद गरेका हौँ।”

लासिमसँगै रहेका अन्य दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए। “तर, सुडानी नागरिकले भने संलग्नता स्वीकारेका छैनन्,” डीआईजी चन्दले भने।

यसअघि, गत बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए।