गाजाको आधा जनसंख्या भोकमरीको चपेटामा: राष्ट्रसंघ

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले लडाइँ जारी रहेको गाजाका आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्।

युद्धग्रस्त गाजाको आधा जनसंख्या भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले त्यहाँ लडाइँ जारी रहेकाले आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्ले। “गाजामा १० मध्ये नौ जनाले दिनहुँ खान नपाइरहेको अवस्था छ,” उनले भने।

अक्टोबर ७ देखि गाजाभित्र र बाहिर आवतजावतमा प्रतिबन्ध लगाइएको छ। गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजापट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन। बाहिरबाट त्यहाँ खाद्यान्न पुर्‍याउन असम्भव रहेको उनले बताए। 

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी कारबाहीमा गाजामा १८ हजार मानिसको मृत्यु भएको जनाएको छ। जसमध्ये सात हजारभन्दा बढी बालबालिका छन्। गाजाको अल–नासर अस्पतालको आईसीयू वार्डमा शिशुको विकृत शव भेटिएको बीबीसीले जनाएको छ। “तीन शिशुलाई अस्पतालको मेसिनमा जोडिएको थियो। शवको छेउमा डाइपर र दूधका बोतल भेटिएका थिए,” समाचारमा भनिएको छ। 

गाजामा तत्काल मानवीय युद्धविरामको माग गरिएको सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो लगाएको एक दिनपछि यो अवस्था सार्वजनिक भएको हो। 

उता, इजरायलले भने हमासलाई हटाउन र इजरायली बन्धकलाई घर फर्काउन गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ।