जाजरकोट भूकम्प: पीडित अझै खुला आकाशमुनि

आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन्। प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ।

जाजरकोट– कात्तिक १७ गते रातिको भूकम्पमा घर ढलेसँगै यहाँका नागरिक खुला आकाशमुनि बस्न बाध्य छन्। आर्थिक रूपमा विपन्न पीडितहरू त्रिपालकै सहारामा खुला आकाशमुनि चिसो रात कटाइरहेका छन्। 

घाइतेको उद्धार तथा उपचारमा जुन गतिमा तीनै तहका सरकार लागेका थिए, सोही गतिमा अस्थायी आवास निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारण समस्या छन्। संघीय सरकारले दिने भनेको ५० हजार रुपैयाँसमेत दुई किस्तामा निकासा दिने भनेपछि पीडित झन् हैरान भएका छन्। सो रकम लिन आउँदा र जाँदा मात्र धेरै खर्च हुने अवस्था छ।

कात्तिक २६ गते स्वीकृत कार्यविधिअनुसार संघीय सरकारले अस्थायी आवास निर्माण गर्नका लागि ५० हजार दिने भनिएको थियो। त्यसका लागि मापदण्ड तोक्दै तत्काल काम गर्न स्थानीय तहलाई भने पनि काम भएको छैन। वडाबाट लगत संकलन गरेको विवरण स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्लाको विपद् व्यवस्थापन समितिसम्म पुग्न तीनवटा भागमा जोडिनुपर्ने बाध्यता छ। कार्यविधिसमेत दुईपटक संशोधन हुँदा दुईपटक तथ्यांक संकलनको काम स्थानीय तहले गर्नुपरेको छ। यसका कारण सरकारले दिने भनेको रकम अझै ढिला हुन गएको छ।

नलगाड नगरपालिका–८ स्वाराकी ३१ वर्षीया विष्णु खत्री घर भूकम्पले चिराचिरा बनाएपछि त्रिपालमा बस्दै आएकी छन्। उनका श्रीमान्‌को दुई महिना अगाडि मात्रै शल्यक्रिया गरेका कारण चिसोले समस्या भएको छ। घाउ दुख्नेलगायत समस्या देखा पर्न थालेको छ। “जब साँझ पर्न थाल्छ, शीतको थोपाले त्रिपाल भिजिहाल्छ। चिसो सिधै भित्र आउँछ,” उनले भनिन्, “त्रिपालमा भए पनि खुल्ला आकाशमुनि बसेजस्तै हुने रहेछ।”

यहाँको मुख्य बस्ती हल्चौरमा करिब ४५० घरधुरी छन्। ठूलो बस्ती छ। परम्परागत तरिकाले निर्माण गरिएका घर ढुंगा र माटोले बनेका छन्। त्यस्तै, नलगाड–१ कल्पतकै रविना नेपालीको घर भत्किएर अहिले खुला आकाशमा त्रिपालकै सहारामा बस्दै आएकी छन्। आर्थिक अवस्था कमजोर भएका कारण आफैँ तत्काल जस्तापाता किन्ने अवस्था छैन भने अर्को उधारो पाइने नजिक बजार पनि छैन। 

स्वयंसेवक आएर निर्माण गरिएका अधिकांश आवास काठको प्रयोग गरेरै बनाएका छन्। छानाबिनाका घर भएका कारण समस्या हुँदै आएको छ। बस्तीका धेरैजसो नागरिकका घर ढुंगामाटोकै थिए। जस्तापाता हाल्न सक्ने अवस्था भएका केही स्थानीयले टहरामा छानो पनि छाइसकेका छन्। तर नहुनेहरू भने टहरा ठडिए पनि हस्तान्तरण हुनसकिरहेका छैनन्। 

दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको भए पनि राज्यले दिनुपर्ने अनुदान समयमा नदिँदा जस्तालगायत निर्माण सामग्री अभाव रहेको प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक बताउँछन्। त्रिपालमा बसेकालाई चिसो छेक्नका लागि न्यानो कपडा छैनन्। भूकम्पले प्रभावित बस्ती जाजरकोटको रावतगाउँ, रिम्ना, रुकुम पश्चिमअन्तर्गतका छेपारे, ज्यामिरेलगायतका बस्तीमा पुग्दा निर्माण गरिएका अस्थायी आवासमध्ये धेरैजसोको छानो नहुँदा काठ ठिंग उभ्याएका छन्।

रुकुम पश्चिम र जाजरकोटमा मात्रै ६० हजारभन्दा बढी अस्थायी आवास आवाश्यक पर्छ। तर अहिलेसम्म २० प्रतिशत पनि निर्माण हुन नसकेको सरोकारवाला बताउँछन्। यहाँ विभिन्न दलहरूले आवास निर्माणमा सहयोग  गरिरहेको देखिन्छ। तर, उनीहरूले बनाएका अस्थायी आवासको वास्तविक तथ्यांक छैन। 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को छेपारे भूकम्पबाट सबैभन्दा प्रभावित बस्ती हो। यहाँ अहिलेसम्म नागरिक त्रिपालमै छन्,” स्थानीय राधिका नेपालीले भनिन्, “घरहरू पन्छाउने काम भएको छ। आवास कहिले निर्माण हुने हो कुनै पत्तो छैन। चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो।”

आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन्। प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ। उता, भूकम्पबाट धेरै प्रभावित नलगाड नगरपालिकामा तथ्यांक संकलनको काम जारी छ।

केही ठाउँमा सम्झौताका कामसमेत भइरहेको नगरप्रमुख डम्बरबहादुर रावतले बताए। आफ्नो पालिकामा कसले कत्ति घर बनाए भन्ने कुनै तथ्यांक नभएको उनले जानकारी दिए।