अमेरिकामा ‘जीन इडिटिङ थेरापी’लाई स्वीकृति, सिकलसेलका बिरामीमा छायो आशा

अमेरिकाको ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो। 

अमेरिकाले वंशाणुगत रोगको उपचारका लागि 'जीन इडिटिङ थेरापी'लाई स्वीकृति दिएको छ। ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो। 

शुक्रबार एफडीएले केसगेभी र लाइफजेनिका गरी दुई प्रकारका जीन सम्पादन पद्धतिलाई अनुमोदन गरेको छ। जीन सम्पादन गर्ने प्रविधि 'क्रिस्पर'को आविष्कार भएको झन्डै एक दशकपछि जीन सम्पादन गरेर उपचार गर्ने पद्धतिलाई अमेरिकाले स्वीकृति दिएको हो। यसलाई मेडिकल क्षेत्रमा नयाँ आयामको रूपमा लिइएको छ। साथै योसँगै वंशाणुगत रोगको उपचारको लागि नयाँ ढोका खुलेको बताइएको छ। 

गत महिना बेलायतको मेडिसिन र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले पनि केसगेभीलाई अनुमोदन गरेको थियो।

जीन सम्पादन गरेर सिकलसेल एनिमिया र बेटा थाल्सिमिया रोगको उपचार गर्न सकिन्छ। सिकलसेल एनिमियाँ रोग एक प्रकारको आनुवांशिक अवस्था हो। एकल उत्परिवर्तित जीनको कारणले गर्दा रगतमा आउने विकारले राता रक्तकोषमा असर गर्छ। जसले ती रक्तकोषको आकार गोलो नभएर हँसिया जस्तै बन्छन्। 

अमेरिकामा अनुमानित एक लाख मानिसहरुमा यो रोग छ, र विश्वव्यापीरूपमा यसले ७७ लाख भन्दा धेरै मानिसहरुलाई असर गरेको छ। तीमध्ये अधिकांश अफ्रिकी तथा क्यारेबियन मूलका मानिसहरू रहेका छन्। नेपालका पश्चिमी क्षेत्रका थारू समुदायमा पनि सिकलसेलको समस्या छ।

जीन थेरापी तथा जीन इडिटिङ पद्धति निकै महँगो छ। नेपाली ३० देखि ४० करोड रुपैयाँसम्म लाग्छ। त्यसैले आम नागरिकले यो प्रविधिको लाभ लिएर उपचार गर्न सक्ने अवस्था तत्कालै देखिँदैन।