पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ।
भोजपुर– नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन्। प्राकृतिक रूपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको हो।
अग्ला हिमशृंखला, पहाडका अग्ला डाँडाहरू, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको संख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए।
पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठ लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने उनको भनाइ थियो।
“मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ,” प्रशासकीय अधिकृत न्यौपानेले भने, “यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेका छौँ। यहाँको प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको छ।”
यहाँ किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरूले उत्पादन गर्ने प्रांगारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन्। यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा परिचित छ।
उकालो–ओरालो हुँदै फैलिएको पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला देख्न सकिन्छ। किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो। करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्रामस्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुंगे चौतारा निर्माण गरिएको जनाइएको छ।
किरात राईको संस्कृति झल्कने (चिन्डो आकार)का १५ वटा पोखरी निर्माण गरिएको छ। पर्यटनलाई माथि उकास्न आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ।
तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। पर्यटकको आवागमन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगत रूपमा अनुगमन गरिएको उनको भनाइ थियो।
“गाउँपालिकाले पर्यटकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ। तीन महिनाको अवधिमा एक लाख पर्यटक भित्रिएका छन्,” अध्यक्ष बस्नेतले भने, “पदमार्गमा आउने पर्यटकको संख्या बढेसँगै हामीले यहाँको व्यवस्थापनमा ध्यान दिएका छौँ। गाउँपालिकाले सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ।”
अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास (होमस्टे)लाई व्यवस्थित गर्ने, पानीको व्यवस्थापन गर्नेलगायत काम गरिने अध्यक्ष उनको भनाइ थियो। बढी मात्रामा भदौ, असोज, कात्तिक र मंसिरमा पर्यटक आउने गरेको सावा घरबास (होमस्टे) हाँस पोखरीका सञ्चालक याङमीयाङ राईले बताए।
प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठन्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ।
मुन्दुम पदमार्ग राम्रो पर्यटकीय गन्तव्य रहेकाले यसले गाउँपालिको आर्थिक विकासमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। घुम्न आउने पर्यटकको सहज यात्राका लागि गाउँपालिकासँगै सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
“यो पदमार्ग प्राकृतिक हिसाबले निकै सुन्दर छ,” प्रजिअ घिमिरेले भने, “पर्यटकको आवागमन बढेकाले उनीहरूको सुरक्षा र सहज आवतजावतका लागि ध्यान दिन आवश्यक छ। स्थलगत अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने काम पनि देखिएको छ। हामीले आउने पाहुनाहरूको सहज यात्राका लागि ध्यान दिएका छौँ।”
टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। आउने पर्यटकहरूलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनको भनाइ थियो।
यो केन्द्रबाट पर्यटकलाई पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थानहरू, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरूको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन्।
“पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरेका छौँ,” उनले भनिन्, “यहाँबाट पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्ने हाम्रो लक्ष्य छ। यहाँबाट पर्यटकलाई सहज र आनन्ददायी यात्राको लागि टेवा पुग्छ। पदमार्गको थप विकासका लागि हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
