बागलुङका गाउँ–गाउँमा किवी खेतीको लहर

बागलुङका १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले यहाँ उत्पादित किवी बागलुङ बजार हुँदै चितवन पुग्ने बताउँछन्।

गलकोट– बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रूपमा किवीलाई लिन थालिएको छ। पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको संख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँ–गाउँमा किवी खेतीको लहर चलेको हो।

गाउँमा उत्पादन भएको किवी अहिले बागलुङ बजारमा देख्न सकिन्छ। केही वर्ष पहिलासम्म आयात गरिएको किवी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किवी बिक्री हुन थालेको बताउँछन्।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्ववडाध्यक्ष जीतबहादुर जिसीले किवी खेती गर्न थालेको दुई वर्ष भयो। पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उनले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिए। “आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ। अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ,” उनले भने।

पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ–गाउँमा किवी खेती विस्तार हुँदै गएको छ। बागलुङमा पछिल्लो समय बागलुङमा १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्।

काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किवी बागलुङ बजार हुँदै चितवन पुगेको बताए। पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उनको भनाइ थियो। 

गत वर्ष चार हजार केजी बिक्री गरेका बागलुङका पुराना किवी किसान मेहरसिंङ पाइजाले यस वर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताए। बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किवी लगाउने पाइजाले यस वर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाँट गर्दा राम्रो उत्पादन दिने बताए। प्रतिकेजी १०० रुपैयाँमा बिक्री भए पनि किवीमा नाफा रहेको उनले अनुभव सुनाए।

एक पटक किवीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किवीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुन्डेका हर्कबहादुर थापाले बताए। उत्पादित किवी भकुन्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उनको भनाइ थियो। विसं २०७३ मा पोखरामा किवीको बिरुवा देखेका हर्कबहादुरले बारीमा जम्मा पाँच बोट मात्रै लगाएका थिए।

उक्त बोटमै वार्षिक पाँच सय केजी किवी उत्पादन हुने गरेको थापाले जानकारी दिए। मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उनले बताए। थापाको घर नै अहिले किवीले ढाकेको छ। अहिले भकुन्डेमा मात्रै आधा दर्जन किसानले व्यावसायिक किवी खेती गर्दै आएका छन्।

किवी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए। “आफैँबाट शुरू गरेँ अरूलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किवी खेती गरेको छु। पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौं लगानी थप्न नपर्ने खेती हो,” उनले भने, “एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किवी खेतीमा आकर्षित भएका छन्।”

रेशमा वडा कार्यालयले अनुदानमा किवीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिए। उनका अनुसार किवीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि २५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ।

किवीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ। किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

रोपेको तीन वर्षदेखि उत्पादन दिन शुरू गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए।