लगानी सम्मेलनअघि ‘कन्ट्री रेटिङ’को काम गर्छौंः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा आयोजना गर्ने तय लगानी सम्मेलनअगावै ‘कन्ट्री रेटिङ’को प्रक्रिया सम्पन्न गर्ने बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन गरिएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन्। 

उनले नेपालमा लगानी गर्न आवश्यक सबै किसिमका ऐननियम परिमार्जनलाई सरकारले प्राथमिकता दिएको बताए। काम गर्ने प्रक्रियागत झन्झट तथा कार्यशैली सम्मेलनअगावै परिवर्तन हुने उनको भनाइ थियो। 

अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भए पनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानूनमा पनि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। 

अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए। वैदेशिक लगानीका लागि नेपाल सबैभन्दा उपयुक्त रहेको उनले दाबी गरे। उनले नेपालमा जलविद्युत्, पर्यटन, सफ्टवेयरलगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको उनको भनाइ छ।

उनले सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए। उनले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जान सके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए।