अप्पर अरुणको पहुँचमार्ग बनाउन दुई हजार रूख काटिँदै

अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको छ। 

प्रतीकात्मक तस्वीर

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रूख कटान गरिने भएको छ। 

आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रूख काट्न अनुमति दिइएको हो। 

पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१.०८ हेक्टर क्षेत्रफलका दुई हजार १६८ रूख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए। 

आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रूख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताए। योसँगै आयोजनाका लागि पहुँचमार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ थियो।

प्राधिकरणले २.०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुंगा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ। पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ। 

पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ। सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ। अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको छ। 

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड रुपैयाँ बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण शुरू हुनेछ। 

हाइड्रोपावर निर्माण शुरू भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ। 

जलविद्युत् आयोजनाका लागि १४ हजार रूख कटान
जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रूख कटान गरिएको छ। निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ।

विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। नौ सय मेगावाटको अरुण तेस्रो र २२० मेगावाटको कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त संख्यामा रूख काटिएका हुन्। 

अरुण तेस्रो र कोसी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार ६२७ रूख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिए।