मानव बस्ती पस्न थालेपछि ध्रुवे हात्तीको घाँटीमा जोडियो रेडियो कलर

जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।

हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियो कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

हात्तीको घाँटीमा रेडियो कलर जडान गरिएको छ। रेडियो कलर जडान गरेसँगै निकुञ्जले हात्तीको निगरानी गर्न सजिलो हुने उनले बताए। 

रेडियो कलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ। रेडियो कलर जडान गर्नुअघि हात्तीको दाह्रा पनि काटिएको थियो।

विगत केही वर्षयता शान्त रहेको ध्रुवे हात्ती तिहारयता मानव बस्तीमा पस्न थालेपछि निकुञ्जले डार्ट गरी रेडियो कलर जडान गरेको हो। 

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली, पाँच हात्ती परिचालन गरिएको थियो।

हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको तिवारीले बताए।