पशुपतिमा बहुमूल्य नागमणि, १ मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

मंगलबार बिहान नौ बजेदेखि १२ बजेसम्म पश्चिम ढोकाअघि बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शनमा राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

काठमाडौँ– पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान सर्वसाधारणका लागि प्रदर्शनमा राखिँदैछ। 

प्रत्येक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ‘वर्षभर सुरक्षित राखिएको छ’ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने चलन छ।

यसैगरी, मंसिर कृष्ण औँसीका दिन भने ‘अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ’ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंखलाई मंगलबार नै भण्डारको तेस्रो तलामा राखिन्छ। बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि ‘सुरक्षित छ’ भनी यी सामग्री देखाइँदै छ।

यसैगरी, यी सामग्री प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकारवाला निकायका रोहवरमा बुझाउने गरिन्छ। भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ।

बिहान साढे नौ बजेदेखि तीन घण्टासम्म प्रदर्शनमा राख्ने तयारी रहेको प्रवक्ता अधिकारीले बताए। पशुतिनाथको पश्चिम ढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ।

बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ।