जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन जारी

केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।

कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भेरी नगरपालिका–३ स्थित माथिल्लो थाप्लेको बस्ती। तस्वीर: रासस

त्रिवेणी– कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ। 

प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको सूची तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए। उनका अनुसार केही स्थानमा अझै संकलन जारी रहेकाले पाँच हजार लाभग्राही बढ्ने सम्भावना छ।

आठबीसकोट, चौरजहारी र मुसिकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरीका साढे १७ हजार लाभग्राहीलाई प्रतिघर २५ हजारका दरले ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ। अब संघीय सरकारले पठाएको ५० करोडमा छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बडुवालले जानकारी दिए। 

“संघीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको ५० करोड रुपैयाँले नपुग्ने देखिएपछि  ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ,” उनले भने। अन्तिम विवरण तयार हुने अझै एक हप्ता लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ। नगरपालिकाभर नौ हजार ९६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार तीमध्ये साढे चार हजार लाभग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ।

केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ। आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार ४६२ जनाको भने पहिलो किस्ताबापतको रकम आउन बाँकी रहेको शाहले बताए। 

कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन्। त्यसको विवरण स्थानीय तहले संकलन गरेका छैनन्। चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ।

नगरपालिकाभित्र ४३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन्।

नगरपालिकामा छ हजार २७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापत २५ हजारका दरले १५ करोड ६९ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको छ। त्यसमध्ये बैंकमा खाता खोलेका ७५० लाभग्राहीको खातामा रकम पठाएको छ। 

बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने ढकालले जानकारी दिए। लाभग्राहीको विवरण संकलन नसकिएकाले अझै नगरपालिकामा करिब ८०० लाभग्राही थपिने उनले बताए।