हेङ्माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।
भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी ‘लिफ्टिङ’ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। यसको अनुमानित लागत कुल १८ करोड ५३ लाख ८२ हजार रुपैयाँ छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्यांकी र पालेघर निर्माणसँगै चार हजार २०० मिटर मुख्य पाइपलाइन विस्तार सम्पन्न भएको छ। शाखा लाइन विस्तार र १५० मिटर मुख्य पाइप बिछ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताए।
उनले भने, “कामलाई तीव्र रूपमा अघि बढाएका छौँ। मुहानबाट करिब १५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ। विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ। बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ।”
यो आयोजनाबाट हतुवागढी गाउँपालिका–१ र २ रानीबासका करिब ८४८ परिवारलाई पानी विस्तार हुने छ। हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५/७६ बाट आयोजना निर्माण थालिएको थियो।
चाँडो पानी सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए। “यो योजनाको पाइपलाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ,” प्रमुख सिंहले भने, “तत्काललाई पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ।”
क्रमागत योजना रहेकाले यो वर्ष ५८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। प्रदेश सरकारबाट थप बजेट आएमा यो आर्थिक वर्षमा सबै ट्यांकीमा पानी खसाल्न सकिने प्रमुख सिंहले बताए।
आयोजनाको कामलाई समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। “योजनालाई सम्पन्न गराउन हामीले पनि आफ्नो तहबाट भूमिका खेलिरहेका छौँ,” उनले भने, “प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको छ। यसलाई समयमा सम्पन्न गराएर दिगो व्यवस्थापनका लागि काम गर्न आवश्यक छ।”
योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताए। “यहाँका स्थानीय पानीको पर्खाइमा छन्,” उनले भने, “वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
