स्थानीय तहले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेका छन्। शैक्षिक संस्था बन्द भएका छन्।
मनाङ– मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिर अन्तिम साता यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।
बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि राति माइनस १६ देखि १८ डिग्रीसम्म झर्ने गरेको छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ। जसका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
“चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारीसाधनको आवतजावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ,” प्रजिअ लामिछानेले भने, “चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको छ।”
चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए।
पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ। त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ। योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ।” पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्।
शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन्। यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी छ।
चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए। उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ।
ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले बेँसी झरेको बताए। आफूहरू घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनको भनाइ छ। “चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ। तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ। ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन्,” उनले भने।
लामो समयसम्म हिमपात हुँदा अलिअलि जम्मा गरेर राखेको घाँस पनि सकिने र खान नपाई दुब्लाएर मर्ने समस्या हुनेगर्छ। जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ। हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ। जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ।
“लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ। नाउर पनि याकचौँरीसँगै अलि तल नै झर्छन्,” उनले भने, “जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन्। यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ।”
फागुनको पहिलो सातादेखि खेतीपातीको समय शुरू हुन्छ। त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ।
हाल जिल्लाभर चार हजार ३९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए। जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्किन थाल्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
