दोदा पुल: ८ वर्ष बित्यो, बन्ने निश्चित छैन

ठेकेदारले जिम्मा लिएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीय निराश बनेका छन्। अब त पुल बन्नेमा आशंका हुन थालेको लालझाडी–४ का कृष्ण रानाले बताए।

बेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो। यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन्।

२०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।  लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीले निर्माणको जिम्मा लिएको थियो। त्यसपछि पटक पटक म्याद थप हुँदा पनि पुल निर्माणले गति लिन सकेको छैन। तीन पिलर पनि मापदण्डविपरीत निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ।

“पुलको कामले गति लिएको छैन। निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएका छौँ,” सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले भने,  “२०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो। ठेकेदारले विभिन्न बहाना बनाएर लापरबाही गरिरहेका छन्।” 

हालसम्म १२ करोड भुक्तानी भइसकेको सिग्देलले बताए। पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन्। “लामो समय बितिसक्दा पनि पुल निर्माण भएन। अब त पुल बन्नेमा आशंका हुन थालेको छ,” लालझाडी–४ का कृष्ण राना भन्छन्।

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन्। “नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ,” लालझाडी–५ का धोके रानाले भने, “बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन।”

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन्। बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मंगलबहादुर चौधरीले बताए। 

“वर्षात्‌मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन। बाढीले बगाउने हुनाले हटाउँछौँ,” उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ।”