राष्ट्रसंघको आपत्कालीन बैठकले पारित गर्‍यो इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।

संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए)को आपतकालीन बैठकले इजरायल–हमास द्वन्द्वका बीच गाजामा जारी युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। 

बैठकमा १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन्। १० सदस्य विपक्षमा मतदान गर्दा २३ सदस्य अनुपस्थित रहे। अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्युगिनी र पाराग्वेले प्रस्तावको विपक्षमा मतदान गरेका हुन्। 

संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी अजेन्डालाई थप बल दिने बताए। युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उनले प्रस्ताव अस्वीकार गरेका छन्।  

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।

यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए। इजिप्टले सुरक्षा परिषद्‌मा युद्धविरामको लागि गत हप्ता गरेको आह्वान अमेरिकी भिटोका कारण असफल भएको थियो ।

महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्न युद्धविराम एक मात्र उपाय भएको बताएका छन्। 

संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्ने बताएका छन्। फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताए।