चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो, अस्पतालमा शय्या अभाव

वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

सर्लाहीको सदरमुकाम मलंगवामा लागेको बाक्लो हुस्सु। बाक्लो हुस्सु लागेर यहाँको जनजीवन प्रभावित बनेको छ। तस्वीर: रासस

वीरगन्ज– पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

केही दिनयता बढेको चिसो र शीतलहरका कारण शहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन्।

वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। बालबालिकादेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन्।  

चिसोका कारण उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पतालमा आउने गरेको उनको भनाइ छ। 

“अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको छ। भुईँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ,” उनले भने।