जनकपुरधाममा विवाहपञ्चमी उत्सवको रौनक

अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने र स्थानीयले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ।

काठमाडौँ– जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ।

मंगलबार शुरू भएको महोत्सवमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो। 

त्रेता युगमा भारत अयोध्याका राजकुमार श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको थियो। नगर दर्शन अवलोकनका लागि पुगेका दर्शक एवं दर्शनार्थी दिनभर झुमेर रमाएका थिए।

प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी विवाह पञ्चमी उत्सव मनाइन्छ। यसपालि यसको रौनक नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा पनि देखिएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनककी छोरी सीताको विवाह भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन छ। 

सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्न्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ।

रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने चलन छ। प्रत्येक वर्ष मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्छन्। 

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन छ। आगामी आइतबार जनकपुरमा हुने विवाह पञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेका छन्। 

अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ। जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको लक्ष्मीनारायण मठका महन्त रवीन्द्रदास वैष्णवले बताए। 

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले मनाउने गर्छन्। 

मंगलबार जनकपुरधाम दर्शन, बुधबार फूलबारी लीला, बिहीबार धनुष यज्ञ, शुक्रबार तिलकोत्सव, शनिबार मटकोर विधि तथा पुस १ गते शुभविवाह र पुस २ गते राम कलेवाको कार्यक्रम तय गरिएको छ।