अर्थतन्त्रका सूचक सकारात्मक छन्: अर्थमन्त्री

कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि आफूले नीतिगत र मौद्रिक पहल गरेको अर्थमन्त्री महतको दाबी छ।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था राम्रो भएको दाबी गरेका छन्। आर्थिक सूचकहरू पनि अत्यन्तै सकारात्मक भएको उनको भनाइ छ। 

बुधबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महतले पुँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महसुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भई समग्रमा ७.५७ प्रतिशतले राजस्वमा वृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारोन्मुख भएको बताएका हुन् ।

कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि आफूले नीतिगत र मौद्रिक पहल गरेको मन्त्री महतको दाबी छ।

अपेक्षा गरेकोभन्दा कम राजस्व उठे पनि अर्थतन्त्रका सूचक अहिले अत्यन्तै सकारात्मक बन्दै गएको, मौद्रिक नीति दर घटाउँदा बैंकहरूले ब्याजदर घटाउनमा मद्दत पुगेकोले ऋणीलाई समेत राहत हुने अर्थमन्त्री महतले बताए।

“मौद्रिक नीति दर घटाउँदा बैंकहरूले बिस्तारै घोषणा गर्न थालेकोले ब्याजदर पनि कम हुँदै जाने अवस्था छ। यसले ल्यान्डिङ विस्तार हुने अवस्था अब आउँछ। जसले ऋण लिएका थिए उनीहरूलाई पनि राहत पुग्छ,”
उनले भने, “बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेकोमा हाल ९.९४ रहेको छ।”

आर्थिक वर्ष २०८९/०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६८.५५ अर्ब ऋण प्रवाह भएकोमा अहिले १३० अर्ब पुगेको अर्थमन्त्री महतको भनाइ छ। “अर्थतन्त्रमा पुँजी बिस्तारै चलायमान हुँदै गएको छ। चालु खातामा ५९ अर्ब बचत र ९९ अर्बको शोधनान्तर बचत छ,” उनले भने, ‘१२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोले बाह्य परिवेशमा हामी सहज अवस्थामा छौँ।”

असोज मसान्तसम्म विप्रेषण ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै अर्थमन्त्री महतले यो अहिलेसम्मकै धेरै भएको बताए ।

उत्पादन र रोजगारी वृद्धि हुन अझै केही समय लाग्ने भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरे। 

“उत्पादन र रोजगारी वृद्धि हुन केही समय लाग्छ, रातारात हुँदैन। मौद्रिक नीतिको पछिल्लो घोषणापछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको छ,” उनले भने, “जग्गाको कारोबार पनि बढ्ने अवस्थामा छ।”