माओत्सेतुङले हस्ताक्षर गरेको खानाको मेनु २ लाख ७५ हजार डलरमा बिक्री

मेनुमा माओ र प्रधानमन्त्री झोउ एनलाइ लगायत तत्कालीन ६ जना प्रभावशाली चिनियाँ नेताको हस्ताक्षर रहेको छ।

चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङले हस्ताक्षर गरेको खानाको मेनु २ लाख ७५ हजार डलरमा बिक्री भएको छ। 

सन् १९५६ अक्टोबर १९ मा बेइजिङमा आयोजित एक राज्य भोजको आधिकारिक मेनुमा माओलगायत नेताले हस्ताक्षर गरेका थिए। बोस्टनस्थित आरआर लिलाम गृहले अघिल्लो हप्ता उक्त हस्ताक्षर भएको मेनु लिलामी गरेको समाचार एजेन्सी एपीले जनाएको छ। 

उक्त मेनु तत्कालीन पाकिस्तानी प्रधानमन्त्री हुसेन शहीद सुर्वार्दीको चीन भ्रमणका बेलाको रहेको बताइएको छ। मेनुमा माओ र प्रधानमन्त्री झोउ एनलाइ लगायत ६ जना प्रभावशाली चिनियाँ राजनेताले फाउन्टेन पेनले हस्ताक्षर गरेका थिए।

उक्त मेनुमा दुवै देशका खानाको परिकारको नाम लेखिएको छ। ‘कन्सोम्म अफ स्वेलो नेस्ट र ह्वाइट एगारिक,’ ‘ब्राउन ससमा शार्कको फिन,’ ‘रोस्ट पेकिङ डक’ जस्ता स्वादिष्ट खानाका परिकारको नाम त्यसमा उल्लेख छ।

आरआर लिलामीमा कार्यकारी उपाध्यक्षले उक्त मेनुको महत्त्वबारे एक विज्ञप्तिमा भनेका छन्,– “माओत्सेडोङ र झोउ एनलाइले हस्ताक्षर गरेको मेनु राख्नु भनेको विगतको त्यो क्षणको संग्रह गर्नु हो, जसले कूटनीतिक संलग्नता, सांस्कृतिक आदानप्रदान, र दशकौँदेखि चलेको मित्रताको कथा बताउँछ।”