अलैँचीको मूल्य प्रतिमन ७० हजार, किसान उत्साहित

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ। 

तस्वीर: रासस

ताप्लेजुङ– पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको हो। 

ताप्लेजुङका अलैँची व्यवसायी बालमणि बरालका अनुसार बुधबार अलैँची प्रतिमन ७० हजारमा कारोबार भइरहेको छ। सोमबार यस वर्षको सबैभन्दा धेरै ७१ हजार प्रतिमनका दरले कारोबार भएको थियो। पछिल्ला केही वर्ष न्युन मूल्यमा बिक्री गर्दै आएका किसान यस वर्ष बढी मूल्य पाएपछि खुशी भएका हुन्। 

“यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढेकाले किसानलाई राहत पुगेको छ,” किसान गणेश सिग्देलले भने, “अलैँचीको मूल्यमा सधैँ एकरूपता हुनुपर्ने हो। ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन्।”

गत आर्थिक वर्षको अन्तिममा प्रतिमन ६० हजार रुपैयाँ पुगेको थियो। यस वर्ष सिजनको शुरूआतमा पनि त्यही हाराहारीमा कारोबार भएको थियो। बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकिराका कारण अलैँची उत्पादन घटेको किसान रश्मि आचार्यको भनाइ छ। 

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ।